Prakash Adhikari March 17, 2021

कोलकोता(भारत), ४ चैत्र । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ।

विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताउनुभएको छ।

बुधवार बिहानको बहसमा अदालतले उहाँ पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उहाँको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताउनुभएको छ।

सिन्हाले भन्नुभयो, “बिहान आउने सोमवारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो। तर दार्जीलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले रिहा गर्न आदेश दिएको हो।”

रोहबरमा रिहा

नेपालबाट दीपकका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उहाँको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको छ।

आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने शर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ।

महावाणिज्य दूतका निजी सचिव सतीस थापाका अनुसार दीपकलाई जिम्मा लिनका लागि काकाका छोरा भाइ प्रकाशचन्द्रलाई खबर गरिसकिएको छ।

दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित आफ्नो घरबाट तोरीको पोको बेच्नका लागि भनेर हिड्नुभएको थियो । इलामको मंगलबारे हिँडेदेखि दीपक घर फर्कनु भएन।

दीपकलाई सोही कारागारमा उहाँका परिवारका सदस्यले केही दिन अघि भेट्नुभएको थियो ।

उहाँका भाइ प्रकाशचन्द्रले फागुन १० गते उहाँलाई कारागार पुगेर भेट्दा ुसुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तोु अवस्थामा आफ्नो दाजु देखेको बताउनुभएको थियो। दीपकको मानसिक अवस्था पनि त्यति राम्रो नभएको आफूले पाएको प्रकाशचन्द्रले बताउनुभएको थियो ।

दीपकको मुद्दाको पेशी ४० वर्षसम्म अदालतमा चढेको थिएन।

दीपक हराएको कथा

परिवारका सदस्यहरूका अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्नुहुन्थ्यो। सानोतिनो काम गर्दै गरेका दीपकको घरको आर्थिक अवस्था निकै नाजुक थियो।

एक दिन दीपक तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँड्नुभयो। तर त्यसपछि कहिले पनि घर फर्केर आउनुभएन।

हराएको धेरै वर्षसम्म घर नआएपछि परिवारका सदस्यले उहाँको मृत्यु भइसकेको आशङ्का गर्नु स्वभाविक थियो।

हराएको केही वर्षपछि भारतको दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्क्यो। परिवारले आन्दोलनमा दीपकको मृत्यु भयो भन्ने पनि सोचेका थिए।

पश्चिम बंगाल एमेचर रेडियो क्लब

कारागारमा उनलाई भेट्न गएका वकिललाई आफ्नो घर परिवारबारे लेखेर बुझाउने दीपकका प्रयत्न

दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाका अनुसार नेपालका कैयौँ स्थानमा उहाँलाई खोजियो।

व्रतबन्ध पनि नभएका दीपक बाँचेको आस मारेको प्रकाशले सुनाउनुभयो।

प्रकाशले भन्नुभयो, ूदेश बाहिर खोज्ने हाम्रो हैसियत पनि थिएन। नेपालमा खोज्दा नभेटिएपछि दाजुको मृत्यु भइसक्यो भन्ने लागेको थियो।ू

दीपकको अवस्था

दीपक कोलकाताको दमदम कारागारमा भएको कुरा थाहा पाएपछि गत फागुन ८ गते काँकडभिट्टामा रहेको विश्व सेवा विस्तार मञ्च नाम गरेको संस्थाको सहयोगमा प्रकाशचन्द्र कोलकाता पुग्नुभयो।

फागुन १० गते भेट्दा ‘सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो’ अवस्थामा आफ्नो दाजुलाई भेटेको प्रकाशचन्द्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘शरीर कामेको, डर र त्रासले बाँचेको जस्तो अवस्थामा भेटेँ।’

आफ्नो दाजु हो वा होइन भनेर प्रकाशचन्द्रले दीपकलाई परिवारका सदस्य तथा गाउँका बारेमा सोध्नुभयो।

उहाँले तिनका बारेमा बताएपछि दाजुसँग हात मिलाएको र अङ्कमाल गरेको प्रकाशचन्द्रले बताए।

दीपकसँग भेटघाटका क्रममा सुरुमा मानसिक रूपमा विचलित देखिए पनि करिब तीन घण्टाको संवादपछि उनको अवस्था केही हदसम्म सामान्य बनेको प्रकाशचन्द्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ूअदालतले दाजुको मानसिक स्वास्थ्यको जाँच गर्न आदेश दिए पनि कहिले पनि स्वास्थ्य जाँचको रिपोर्ट अदालतमा पेस गरिएको रहेनछ।ू

पश्चिम बंगाल एमेचर रेडियो क्लब
दार्जिलिङको एक अदालतले दिएको आदेशको प्रति

४० वर्षसम्म मुद्दा किनारा लागेन

रोजगारीको खोजीमा दीपक भारतको दार्जिलिङ जानुभएको रहेछ।

दार्जिलिङमा बस्दै जाँदा उहाँलाई प्रहरीले पक्राउ गर्‍यो र कर्तव्य ज्यान मुद्दा लगाइयो।

सोही मुद्दामा विभिन्न जेल हुँदै अहिले उहाँलाई कोलकाताको दमदम कारागारमा पुर्याएको थियो ।

४० वर्षसम्म पनि किनारा नलागेको उहाँको मुद्दाको सुनुवाइ यही सोमबार भएको थियो।

पश्चिम बंगाल एमेचर रेडियो क्लब
दीपककी आमा धनमाया र कान्छो भाइ धर्मानन्द

२०७० सालमा दीपकको नामबाट परिवारले एउटा चिठ्ठी पाएका थिए।

त्यसपछि कानुन व्यवसायी सतिशकृष्ण खरेल र अरुण सिंह लगायतले प्रकाशचन्द्रलाई सम्पर्क गर्नुभयो।

कारागारमा रहेका दीपक उहाँका दाजु हो वा होइन भनेर निर्क्योल गर्न कोलाकातास्थित महावाणिज्य दूतावासबाट पनि फोन आयो।

त्यसपछि प्रकाश कोलकाता पुग्नुभएको थियो।

परिवारका सदस्य तरङ्गित
लामो समयदेखि हराएको घरको सदस्य बाँचिरहेका छन् भन्ने खबरले इलामको माई नगरपालिका वार्ड नं १० मा बसोबास गर्ने उनका परिवारका सदस्य तरङ्गित भएका दीपकका भान्जा डा. डिएन फुँयालले बताउनुभयो।

दीपककी वृद्ध आमा धनमायाको दाहिने हात काटिएको छ।

अहिले कान राम्ररी सुन्नुहुन्न तर छोरो आउने खबरले उहाँ पनि उत्साहित बन्नुभएको छ।

फुँयालले भन्नुभयो, ूछोरो जिउँदो छ भन्ने खबरले हजुरआमाको मुहारमा हाँसो देखिन थालेको छ।ू

दीपक भेटिएको खबरले परिवारमा खुसीयाली छाएको दीपकका भाइका छोरा गोपाल तिम्सिनाले बताउनुभयो।

Share Now

Leave a comment.