काठमाडौं, ४ चैत्र । आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पार्टीको सङ्कटका निम्ति एक्लो जिम्मेवार व्यक्ति भएको बताउनुभएको छ।
“अहिलेको अवस्थाका निम्ति अरू कोही होइन केपी शर्मा ओली नै जिम्मेवार हो। सबै वितण्डाको जिम्मेवार ओली नै हुन्,” नेपालले भन्नुभयो।
अध्यक्षको तर्फबाट कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरिए पनि आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमाथि निम्न ७ वटा दोष लगाउनुभएको थियो ।
छलफल नगर्ने : बैठक राख्न अनुनय विनय गर्नुपर्ने। बल्ल बल्ल बैठक बस्यो भने छलफलै नहुने। अध्यक्षको एकोहोरो प्रवचन सुन्नुपर्ने।
तानाशाही प्रवृत्तिः म नै पार्टी हुँ भन्ने भावना। अहंकार,गुटगत भावना, भजनमण्डलीको चाहना, अनि आलोचनाप्रति असहिष्णु।
जबज सिध्याउन जिम्मेवारः नेकपा एमालेको जनताको बहुदलीय जनवाद (जबज)बारे कहीँ अडान नलिने। खुसुक्क त्यसलाई हटाउने। मदन भण्डारीको विरासत थामेको नक्कली कुरा गर्ने।
विधि पद्धतिको उल्लङ्घन : सहमतिको सधैँ रटान गर्ने तर स्वेच्छाचारितामा रमाउने। विधिविधानको बेवास्ता गर्ने।
व्यक्तिवादी चरित्रस् पार्टीको लोकप्रियतालाई आफ्नो एकल लोकप्रियता ठान्ने।
लडाउने भिडाउने काम : नेताहरूलाई लडाउने र भिडाउने काम गर्ने। कुर्सी बचाउन संविधानको अपव्याख्या गर्ने।
सहमति तोड्ने सिलसिला : सहमति गर्ने तर पालना नगर्ने। आधा आधा कार्यकालको नेतृत्व गर्ने भनेर प्रचण्डसँग आफैँ सहमति गर्ने अनि फेरि आफैँ उल्लङ्घन गर्ने।
ललितपुरको सानेपामा गरिएको उक्त भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीका विरुद्ध आफूहरूसँग एक भारी तथ्य र एक भारी प्रमाण रहेको बताउनुभएको थियो।सो भेला बुधवार र बिहीवार हुने बताइएको छ।
यसअघि अध्यक्ष ओलीको समूहले भने उक्त भेला नगर्न सबै नेताकार्यकर्तालाई सचेत गराएको थियो।
महासचिव ईश्वर पोखरेलले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै ‘अनुशासनहीन गुटगत भेला’मा सहभागी नहुन सबै नेता कार्यकर्तालाई निर्देशित गनुभएको थियो।
“अन्यथा संविधान, पार्टी र संसदीय दलको विधान तथा नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ,”विज्ञप्तिमा उल्लेख थियो।


















