Prakash Adhikari March 23, 2021

बैतडी, १० चैत(रासस) ।  महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो ।

दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकाली नदीमा जलयात्राको सम्भावना रहेकाले अबका दिनमा यसलाई निरन्तरता दिनका लागि पहल गरिनेछ ।”

जलयात्रा शुरु गर्न सके सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । महाकाली नदी भारतसँग जोडिएकाले जलयात्रालाई निरन्तरता दिन सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । “यो क्षेत्रमा सहजरूपमा जलयात्रा सञ्चालन गर्न सकिने देखिएको छ, यसले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

सेरादेखि झुलाघाटसम्मको जलयात्रामा नगरपालिकाका प्रमुख थापा, उपप्रमुख चन्द, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द, रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशी, महिला सशक्तीकरण केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

Share Now

Leave a comment.