Prakash Adhikari March 26, 2021

काठमाडौँ, १३ चैत (रासस) नेपाली सेनाले राष्ट्र, जनता र सेनाको बृहत्तर हितमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ । सेना दिवस २०७७ का अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले समाजका विभिन्न क्षेत्रका २८ जनालाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गर्नुभएको हो ।

उक्त पदकबाट सम्मानित हुनेमा पूर्वरक्षा सचिव शंकरप्रसाद पाण्डे, भन्सार जाँच पास परीक्षण कार्यालयका सह–सचिव विष्णुराज ढकाल, रेडियो नेपालका समाचार सम्पादक अच्यूतराज अर्याल, गैरसरकारी संस्था अक्सफामका लागि क्षेत्रीय सुरक्षा सल्लाहकार चीरनजङ्ग थापा, बेशिसहर नगरपालिका–२ का अध्यक्ष गणेशबहादुर कँडेल खत्री, चिकित्सक डा कविर थकाली र इञ्जिनीयर फागुसिंह लिम्बूलगायत हुनुहुन्छ ।

सो अवसरमा प्रधानसेनापति थापाले सम्मानले राष्ट्रप्रतिको सेवाभावमा थप हौसल्ला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको हितका खातिर कुनैपनि व्यक्तिले जुनसुकै तह र तप्कामा रहेर पनि सहयोग गर्न सक्छन् ।”

नेपाली सेनासँग सहकार्य गर्दै आएका मुलुकका सैनिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, सञ्चारकर्मी, समाजसेवीलगायत विदेशी नागरिक र संस्थालाई विसं २०७१ बाट सेनाले प्रशंसा निशानसहित कदरपत्रबाट सम्मान गरिँदै आएको छ । छिमेकी कतिपय मुलुकमा पनि राष्ट्र र सैनिक सङ्गठनको प्रतिष्ठा र ओज बढाउने कायमा उत्कृष्ट योगदान पु¥याउने सैनिक तथा गैह्रसैनिक व्यक्तिलाई यस खालको सम्मानसहित कदरपत्र प्रदान गर्ने प्रचलन रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाले यस वर्ष ८२ जना गैरसैनिकलाई सो सम्मान प्रदान गरेकामा ५४ जनालाई सेना दिवसकै दिन र बाँकी २८ लाई आज प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Share Now

Leave a comment.