Prakash Adhikari March 26, 2021

 

काठमाडौं, १३ चैत्र । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौ ल्याएर खानमात्र हैन, सडक र नदी समेत सफा बनाउने नेपाली कांग्रेसका तात्कालीन सभापति तथा २०४७ सालकोअन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको एउटा सपना पूरा भएको छ । झण्डै ३ दशकपछि मेलम्ची खोलाको पानी राजधानीबासीको घरका धाराधारामा आउने भएको छ।

मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले चैत्र १५ गते आइतबारदेखि मेलम्ची आयोजनाबाट आएको दैनिक ४ करोड लिटर पानी पुरानो सञ्जालका वितरणप्रणालीमार्फत धारामा पठाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। पानी वितरण तयारी सम्पन्न भैसकेको बताउँदै उहाँले भन्नुभयो, ‘आइतबारबाट मेलम्चीको पानी धारामा पुरानै पाइपबाट पठाउँदै छौँ।’

पहिलो चरणमा काठमाडौं जिल्लामा मात्रै पानी पठाइने छ, वितरण प्रणालीको परीक्षण गर्दै पानी क्रमश भक्तपुर, ललितपुर जिल्लावासीको धारामा पनि पानी पठाउने तयारी गरिएको छ ।

उपनिर्देशक प्रजापतिका अनुसार आइतबारदेखि ५ दिनसम्म दैनिक ४ करोड लिटर पानी वितरण गरिने छ।पाँचपछि सात दिनसम्म साढे ६ करोड पानी वितरण गरिने छ। त्यस‘पछि कति पानी वितरण गर्दै जाने हो भन्ने तय हुन बाँकी छ ।

पानी वितरणका लागि आवश्यक पानी संकलन गर्न १० वटा रिजर्भ ट्यांकी बनाउनुपर्नेमा ९ वटा निर्माण सकिएको छ। बाँकी एउटा ट्यांकीको काम पनि अन्तिम चरणमा पुगेको छ।

मेलम्ची आयोजनाको पानी प्रभावकारी ढंगले वितरण गर्न उपत्यकाभित्र ८० हजार नयाँ धारा जडान गर्नुपर्नेमा अहिलेसम्म करिब दुई हजार धारा जडान भएको छ र जडानका कार्यहरु तीव्र गतिमा बढाइदै छ ।

उपनिर्देशक प्रजापतिका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। यसले उपत्यकाको ४० प्रतिशत माग मात्रै धान्नेछ । मेलम्चीको क्षमता अभिबृद्धि नहुञ्जेल परम्परागत अन्य खानेपानी प्रणालीलाई सुधार गरेर बाँकी माग पूरा गर्नुपर्ने अवस्था छ ।

उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल(का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ। केयुकेयलबाट वर्षातको समयमा दैनिक १६ ।१७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति भइरहेको छ।

काठमाडौंको खानेपानी समस्यालाई समाधान गर्न दीर्घकालीन उपायको खोजी गर्दा सन १९८० को दशकमा मेलम्ची आयोजना उपयुक्त विकल्प देखिएको थियो । २०४७ सालका अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको निर्वाचनमा आफूलाई विजयी बनाएमा मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या मात्र हैन,सडक पखालेर काठमाडौंलाई सुन्दर शहर बनाउने प्रतिबद्धता गर्नुभएको थियो ।

प्रतिक्रान्तिका सम्पूर्ण संभावना निर्मूल गर्दै कलंकरहित सक्षम र प्रभावकारी सरकारको नेतृत्व गर्दै एकबर्षभित्र जनआन्दोलनकारी शक्तिहरुले दिएको म्याण्डेट अनुसार उत्कृष्ट संविधान जारी गरी निर्वाचन गर्ने कार्य सम्पन्न गर्नुभएका सन्त नेता भट्टराईलाई तात्कालिन नेकपा एमालेले “तिर्खा मेट्ने पानी छैन सडक धुने फूर्ति ! के को सन्त ? तन्त्रमन्त्र जनता ढाँट्ने जुक्ति !!”भन्दै निर्वाचनमा हराएको थियो । देश र जनतामुखी सदाचारी नेतृत्वले ५ बर्षमा गर्ने काम गर्न अरुलाई ३० बर्ष लाग्यो । सन्त नेता भट्टराईले त नेपाललाई सिंंगापुर जस्तै विकसित र सम्पन्न पनि बनाउछु भन्नुभएको थियो । उहाँको यो सपना पूरा चाहिं कसले कहिलेसम्म गर्ला ?

Share Now

Leave a comment.