नयाँदिल्ली (भारत), १३ चैत्र । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना हुनुभएको छ ।
छातीमा सामान्य समस्या महसुस गरेपछि उहाँलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अस्पतालले उहाँको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । “राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो, उहाँले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहनु भएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना हुनुभएको हो ।
विदेश भ्रमणमा रहेपनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राख्नुभएको थियो । उहाँले राष्ट्रपतिका छोरासँग उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उहाँको अवस्थाका बारेमा कुराकानी गर्नु भएको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ ।


















