काठमाडौं, २६ माघ । प्रदेश सभा,प्रतिनिधि सभा र राष्ट्र्यि सभामा भएको चुनावी गठबन्धनलाई पार्टी एकतामा रुपान्तरित गर्न प्रयासरत नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।
तर बैठकको समय र स्थान किटान गरिएको छैन ।
बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगतिको समीक्षा गरिने बताइएको छ ।
दुई दलभित्र पार्टी एकताका विषयमा फरक फरक दृष्टिकोण सार्वजनिक भएका छन् ।
यो बर्ष सम्पन्न स्थानीय, प्रदेश सभा, प्रतिनिधि सभा र रा सभामा अधिक सीट जितेर देशको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियत प्राप्त गरेको एमालेलाई केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माण र संसद अधिवेशन सञ्चालनको हतारो छ । त्यसैले एमालको प्राथमिकता सरकार र संसदको पदीय विभाजनमा रहेको छ ।
केन्द्रमा सरकारको नेतृत्वमा दावी नपुग्ने भएकोले माओवादी केन्द्रका अध्यक्ष सहित नेताहरु सरकार गठनसंग एकता प्रक्रिया टुंग्याउन नसकिएमा पार्टी विलय हुने भयले चिन्तित छन् ।
नेकपा एमालेका नेता र कार्यकर्ताहरुले पार्टीको अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद माओवादी अध्यक्षलाई दिन नसकिने विचारहरु सञ्चारमाध्यमबाट सार्वजनिक गरिरहेका छन् ।
पार्टीको अध्यक्ष पनि नपाउने र प्रधानमन्त्री पनि नपाउने गरि एकीकरण गर्नुको अर्थ पार्टी विलय गर्नु सरह हुने भएकोले समान हैसियत नहुने भएका पार्टी एकीकरण नगर्न प्रचण्डमाथि आफ्नो पार्टीका नेता र कार्यकर्ताको चर्को दबाव छ ।
माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले आफ्नो फेसबुकमा सार्वजनिक गरेको स्टाटसले पनि यही कुरा झल्काउछ । उनी भन्दछन्, ‘पार्टी एकताका लागि कम्तिमा पाँच कुरा चाहिन्छ, (१) एक-अर्कामा विश्वास, (२) लक्ष्यप्रतिको समानता, (३) इतिहासप्रति समान बुझाई, (४) सह-अस्तित्व एवं सम्मान र (५)सँगै गन्तव्यमा पुग्ने प्रतिवद्वता। ढुङ्गो पकाएर खाने जुक्तिले एकतामा बल पुग्दैन। अनि, सरकारमा पुगिहाल्ने र बाँकी कुरा तपसीलमा राख्ने मनोविज्ञानले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको संकल्प बोक्न सक्दैन।’
नेपालको राजनीतिमा बोली र व्यवहारको ठेगान नभएको नेताको रुपमा स्थापित हुँदै गरेका माओवादी अध्यक्ष प्रचण्ड अहिले चरम दवाव र तनावमा छन् । उनको पार्टी एमालेमा विलय हुने निष्कर्ष निकाल्दै नेकपा माओवादीबाट अलग भएका मोहन बैद्य र विप्लवले पार्टी एकीकरण गरी संगठनको आधार फराकिलो बनाउने निर्णय गरिसकेका छन् ।
आज बस्ने एकता संयोजन समितिले दुवै पार्टीका अध्यक्ष सहअध्यक्ष रहने गरी कम्युनिष्ट पार्टीका कुनै पाका नेतालाई अध्यक्ष बनाएर पार्टी एकतालाई अगाडि बढाउने विकल्पमा विचार गर्न सक्ने छ । यसो भएमा एकता अधिवेशन नहुञ्जेल मोहन विक्रम सिंह उपयुक्त विकल्प हुन सक्दछन् ।
बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच ललितपुरको मानभवनस्थित एक निजी निवासमा भएको वार्तामा दुवै अध्यक्षले संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने निर्णय गरेका हुन्।
एकीकृत पार्टीको वैचारिक–राजनीतिक कार्यदिशा र शीर्ष नेतृत्वको पदीय व्यवस्थापनले पार्टी एकता अल्झिएपछि समाधान गर्न दुई अध्यक्षले विभिन्न विकल्पमाथि छलफल चलाईरहेका छन्।