Prakash Adhikari February 9, 2018

 

काठमाडौं, २६ माघ । युवा नायक अनमोल केसी अभिनित यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’ देशैभर प्रदर्शनमा आएको छ ।

फिल्मले नेपालमा सोलो मार्केट पाएको छ, यससंग जुध्न कुनै पनि नेपाली फिल्म हलमा छैनन् ।

तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ रिलिज भएको छ । ‘प्याडम्यान’ ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । तर, सयको आसपासमा सिंगल हल पाएको छ । यसअघि रिलिज भएका अनमोलका फिल्मले सिंगलभन्दा मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएका थिए ।

यसपटक अनमोल स्वयंम ‘यति यति पानी’ बोलको गीतले पनि सिंगल थिएटरमा दर्शकको चाप हुनेमा विश्वस्त छन् ।

लगातार चार फिल्ममा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् ।

 

फिल्मको शुक्रवार ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान छ । मंगलवार साँझबाटै मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो ।

अनमोलको क्रेज र फिल्मको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । फिल्मलाई चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिइरहेका छन् ।

हास्यकलाकार दीपकराज गिरीले अनमोललाई ‘रियल सुपरस्टार’ भन्दै फिल्मको सफलताको शुभकामना दिए । यो फिल्ममा अनमोलले नव नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् ।

बदलाको कथा बोल्ने ‘कृ’ मा सुवास गिरी र भूवन केसीको लगानी छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।

‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

Share Now

Leave a comment.