Prakash Adhikari February 9, 2018

विराटनगर, २६ माघ । नेकपा एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलका नेता शेरधन राईले संसदीय दलको बैठक बसेर केही दिनभित्र सरकार गठनको खाका कोरिने बताएका छन्।

संसदीय दलको नेतामा निर्वाचित भएपछि उनले फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने जानकारी दिए।

राईले अब बन्ने सरकारले प्रदेश १ लाई नमुना प्रदेश बनाउने उद्घोष पनि गरे। उनले प्रदेश १ लाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने बताए।

‘दलभित्र भएको निर्वाचन एक प्रजातान्त्रिक अभ्यास भएकोले यसका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगरिने बरु सबैप्रति समान दृष्टि राख्ने बताए । उनले सबै सांसदलाई जिम्मेवारी प्रदान गर्नेसमेत बताए।

संसदीय दलको नेतामा पराजित एमाले नेता भीम आचार्यले अब पार्टीमा सक्रिय रूपमा लागिपर्ने बताए।

शुक्रबार दिउँसो मोरङ जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका हुन।
बाम गठबन्धनको बहुमत रहेको यस प्रदेशमा पदीय भागवण्डामा एमालेले मुख्यमन्त्री पाउने समझदारी भएकोले राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

Share Now

Leave a comment.