पोखरा(कास्की) । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।
उहाँले सोमबार एक सूचना जारी गरी वैशाख १३ गतेदेखि विशेष बैठक आह्वान गर्नुभएको हो । उहाँले वैशाख १३ गते २ बजे प्रदेश सभाको विशेष अधिवेशनको बैठक बस्ने गरी प्रदेशसभा सचिवालयमा पत्र पठाउनुभएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।
यी तीन दलले बैशाख २ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव आउने जानकारी पाएपछि प्रदेश सरकारले वैशाख १ गते बुधवार राति नै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
अविश्वासको प्रस्ताव ल्याउन अग्रसर तीन दलले वैशाख २ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनका लागि समावेदन दिएका थिए ।
संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ । विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसँग निवेदन दिए त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति प्रदेश प्रमुखले तोक्ने व्यवस्था छ ।
नियमित संसद बैठक डाक्न मन्त्रिपरिषद्ले निर्णय गरेर पठाएपछि प्रदेश प्रमुखले डाक्ने प्रावधान छ । विशेष अधिवेशन प्रदेश प्रमुख आफैँले बोलाउन सक्ने व्यवस्था छ । समावेदन भएको १५ दिनभित्र प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउने संसदीय अभ्यास छ ।
यो अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्ने र पारित हुने भएकाले विशेष महत्वका साथ हेरिएको छ ।
कांग्रेस, माओवादी र जसपाका २८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत दिने बताएको छ ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङले नेतृत्व गरेको एमालेका २७ प्रदेशसभा सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जसपाका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन्


















