काठमाडौं, ७ बैशाख । नेपालमा भैरहेको त्रिदेशीय टि२० क्रिकेट श्रृखला अन्तर्गतको चौथो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २ सय ७ रनको विशाल लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।
टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष्य हो भने नेपालले पनि बनाएको यो नै सबैभन्दा ठुलो लक्ष्य हो।
नेदरल्याण्ड्सको जितमा डी लिडेले ४२ बलमा ७ चौका र ५ छक्काको मद्दतले अविजित ८१ रन बनाएका थिए । खेलमा म्याक्स ओ डोडले ओपनर टोबेस भीसेले १५ रन बनाए। बेन कुपरले ३५ बलमा १० चौका मद्दतले ५५ रन बनाए ।
कप्तान पिटर सिलरले १५ बलमा १ चौका र ३ छक्का मद्दतले ३१ रन बनाए।
नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करन केसी , अविनाश बोहरा र कुशल मल्लले समान १ । १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा २ सय ६ रन बनाएको थियो। टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा यो योगफल नेपालको नेदरल्याण्ड बिरुद्ध सबैभन्दा ठुलो योगफल हो भने नेपालले बनाएको हालसम्मकै दोश्रो ठुलो योगफल हो। नेपालले सन २०१९मा भुटानविरुद्ध २ सय ३६ बनाएको थियो।
नेपालको ब्याटिड.मा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । खेलमा कुशल भुर्तेलले ४६ बलमा ८ चौका र १ छक्का मद्दतले ६२ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु प्रतियोगितामा लगातार तिन वटा अर्धशतक बनाउने विश्वकै पहिलो क्रिकेटर बनेका कुशल भुर्तेलको विकेट पछि ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाएका दीपेन्द्र ऐरी बाहिरिए। ७ बलमा ३ छक्का मद्दतले १८ रन बनाएर कुशल मल्ल पनि १७ औं ओभरमा आर्यन दत्तबाट क्याच आउट भए।अन्तिममा सोमपाल कामीले १३ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २१ रन बनाउदै नेपालको योगफल २ सय ६ पुर््याएका थिए ।
नेदरल्याण्डको बलिंगमा कप्तान पिटर सिलर र भिभिएन किंगमाले समान २ विकेट लिए भने बास डी लिडे र आर्यन दत्तले समान १। १ विकेट लिएका थिए ।
नेदरल्याण्ड्स र नेपालले चार खेलमा समान दुई दुई खेल जितेकोले दुई टिमको फाइनलमा पुन भेट हुने भएको छ ।
स्मरणीय छ, उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।


















