Prakash Adhikari April 21, 2021

कुश्मा(पर्वत), ८ बैशाख । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ ।

सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ ।

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ ।

कुश्माका स्थानीय ब्यापारीहरु पनि पुल अवलोकन र सेल्फी खिच्न आउने आन्तरिक तथा विदेशी पर्यटकका कारण जिल्ला सदरमुकामको व्यवसायमा बृद्धि हुने आशामा यो कदम उचित नभएको बताएका छन् ।

उनीहरुका अनुसार पुल तरेको २० रुपैया लाग्ने कुराले पुल तरेर वारी पारी गर्दै मनोरञ्जन लिने र कुश्मा बस्न चाहने पर्यटकहरु विकर्षित हुन सक्छन् ।

संघीय सरकारको लगानीमा बनेको पुलमा स्थानीय नगरपालिकाले कर उठाउने विषयको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताउनुभयो ।

बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने रु १० कर लाग्नेछ ।

Share Now

Leave a comment.