विष्णु पोखरेल /बीबीसी न्यूज नेपाली
काठमाडौं, ८ बैशाख । सरकारी अधिकारीहरू र जनस्वास्थ्यविद्हरूले नेपालमा अहिले देखिएको कोरोनाभाइरस सङ्क्रमणको अवस्था ‘गत वर्षको तुलनामा निकै खतरनाक तहमा रहेको’ भन्दै थप सावधान हुन नागरिकहरूलाई आह्वान गरेका छन्।
उनीहरूका भनाइमा यसपालि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुन सक्ने जोखिम पोहोरको तुलनामा निकै उच्च देखिन्छ।
कोरोनाभाइरसको नयाँ प्रकार फैलिन थालेको तथा सङ्क्रमणको जोखिमलाई गम्भीर रूपमा नलिने प्रवृत्ति पनि त्यसका लागि जिम्मेवार देखिएको उनीहरूको भनाइ छ।
जोखिम कम गर्न अधिकारीहरूले जनस्वास्थ्यका लागि तोकिएका मापदण्डहरू पालन गर्न आग्रह गरिरहेका छन्।
तर कतिपय जनस्वास्थ्यविद्हरूले मापदण्ड पालन गराउन र जोखिम न्यूनीकरणका लागि सरकारी निकायहरूको भूमिका कमजोर भएको भन्दै प्रश्न उठाउँन थालेका छन्।

काठमाण्डौंमा मास्क लगाएर सवारीसाधन चलाइरहेका चालक
अधिकारीहरू र जनस्वास्थ्यविद्ले यसपालिको कोरोनाभाइरस महामारीको अवस्थालाई पोहोरको तुलनामा निकै खतरनाक देख्नुका पाँच कारण यहाँ प्रस्तुत गरिएको छ।
प्रतिबन्धहरू नलगाइनु
गत वर्ष नेपालमा केही व्यक्तिमा सङ्क्रमण देखा पर्नेबित्तिकै कडा प्रतिबन्धहरूसहित लकडाउन लगाइएको थियो।
तर यसपालि दैनिक १ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि हुँदा र दैनिक ८ ।१० जनाको निधन हुँदा पनि सरकारले कडा प्रतिबन्धहरू नलगाएकाले भाइरस फैलिने दर बढिरहेको कतिपय जनस्वास्थ्यविद्को भनाइ छ।
यसपालि ढिलो गरी सरकारले यसै साताबाट केही प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ। तर विज्ञहरू त्यसले भाइरस फैलिने दरलाई रोक्न खासै सहयोग नपुग्ने बताइरहेका छन्।
“गत वर्ष दुई जनामा मात्र सङ्क्रमण देखिएको बेलामा लकडाउन भएको थियो। त्यस बेला मानिसहरू घरमै बसेका थिए त्यसले जोखिम कम गराएको थियो। बालबालिकाहरू विद्यालय गएका थिएनन्।”जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ, “यसपालि धेरैपछि आएर मात्र निश्चित स्थानमा विद्यालय बन्द गरियो। अन्य धेरै क्षेत्रमा पोहोरका जस्ता प्रतिबन्ध छैनन्। यसले जोखिम निकै बढाएको छ।”

सेतो मच्छिन्द्रनाथको जात्रा : धार्मिक, सांस्कृतिक तथा राजनीतिक भेलाहरूमा ठूलो सङ्ख्यामा मानिसहरू सहभागी भएको देखिन्छ
तर सरकारी अधिकारीहरूले नेपालमा पुनः लकडाउन लगाउनुपर्ने अवस्था आउन नदिनका लागि अन्य उपायहरू मात्र अपनाइएको बताउने गरेका छन्।
मापदण्डको उपेक्षा
यस पटकको कोरोनाभाइरस सङ्क्रमण पोहोरको तुलनामा थप खतरनाक अवस्थामा देखिनुको अर्को कारण तोकिएका स्वास्थ्य मापदण्डहरू पालन नहुनु र नगराइनु रहेको जनस्वास्थ्यविद्हरू बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक जना सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला गएको पुसमाघमा न्यून तहमा पुगेको सङ्क्रमण चैतदेखि ह्वात्तै बढेको देखिएको बताउनुहुन्छ।
“हामीले पछिल्लो समय सम्पूर्ण मापदण्डलाई बेवास्ता गर्यौँ। पुस माघमा त हामी यति बाहिर निस्कियौँ, यति हेलचेक्र्याइँ र लापरबाही गर्यौँ कि त्यसको फलस्वरूप बाहिरबाट आएको भाइरस पनि फैलिन पुग्यो।” उहाँ भन्नुहुन्छ, “यसपालि धेरैपछि आएर मात्र निश्चित स्थानमा विद्यालय बन्द गरियो। अन्य धेरै क्षेत्रमा पोहोरका जस्ता प्रतिबन्ध छैनन्। यसले जोखिम निकै बढाएको छ।”

बागलुङ
जनस्वास्थ्यविद् पाण्डे चाहिँ मापदण्ड पालन नगर्नेमा सरकार र नागरिक दुवै उस्तै देखिएको बताउनुहुन्छ।
उहाँका अनुसार सरकारमा रहेकाहरूले नै पनि मापदण्ड पालन गरेको देखिएन भने मापदण्ड पालन नगर्ने नागरिकलाई दण्डित गर्न पनि सरकारले वास्ता गरेन।
“नेपाल संसारमा एउटा यस्तो देश हो जहाँ जनस्वास्थ्य मापदण्डको अनुगमन सरकारले गर्दैन। अहिले हामीले मास्क नलगाइकन गृह मन्त्रालय वा प्रहरी प्रधान कार्यालयमा गए पनि कसैले केही गर्दैन।”पाण्डे भन्नुहुन्छ,”जनस्वास्थ्यका मापदण्डको पालनाबारे विश्वका हरेक देशले अनुगमन गरेका छन् नेपालले मात्रै गरेको छैन। त्यसले गर्दा जोखिम धेरै बढेको छ।”
नेपालमा अहिले विश्वका विभिन्न स्थानमा देखा परेका बढी सङ्क्रामक मानिएका भाइरसका प्रकार भित्रिएकाले पनि जोखिम धेरै भएको अधिकारीहरूको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार हालसम्म नेपालमा बढी सङ्क्रामक मानिएकामध्ये ब्रजिल र दक्षिण अफ्रिकामा देखा परेका नयाँ भाइरस भित्रिएको पुष्टि भएको छैन।
तर यूकेमा फैलिएको तथा भारतको ‘डबल म्यूटन्ट’ भेरिअन्टहरू भित्रिसकेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार नेपालमा बढी सङ्क्रामक ठानिएका भाइरस फैलिँदै गएमा हाल स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेकोभन्दा बढी मात्रामा सङ्क्रमण हुनेछ।
मन्त्रालयले आगामी असार मसान्तसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या ६ लाख पुग्न सक्छ भन्ने प्रक्षेपण गरेको छ।
तर नयाँ खालको भाइरस फैलिँदै गएमा त्यो सङ्ख्या डेढगुना हुन सक्ने पौडेलले बताउनुभयो।
“पुरानो भाइरसबाट सर्ने दर २.४ छ भने नयाँ प्रकारको चार हुन सक्छ”, उहाँले बताउनुभयो।
नयाँ भाइरसको फैलिँदो दर अहिलेको सङ्क्रमणका लागि निकै चुनौतीको विषय भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ।
सबै उमेर समूहमा सङ्क्रमण र कडा लक्षण
हाल अस्पतालहरूमा भर्ना भएका बिरामीहरू हेर्दा पोहोरको तुलनामा युवाहरूको सङ्ख्या बढी देखिन थालेको चिकित्सकहरू बताउँछन्।
उनीहरूका भनाइमा यसले यसपालि सबै उमेर समूहका मानिसलाई सिकिस्त पार्ने अवस्था आउन सक्ने देखिन्छ।
डा. बास्तोलाका अनुसार यसपालि बिरामी पर्ने युवाहरूमा पनि गम्भीर समस्या देखा परेका छन्। त्यस्तै एकाघरमा पोहोर एक जनामा भए पनि अर्को सदस्यमा सङ्क्रमण हुने दर कम देखिएको थियो। तर यसपालि चाहिँ त्यस्तो नदेखिएको उहाँले बताउनुभयो।
‘कोरोनाभाइरस केही रहेनछ’ भन्ने भावनाको विकास हुनु
यसपालिको कोरोनाभाइरस सङ्क्रमणको अवस्था खतरनाक हुनुको अर्को कारण धेरैमा ‘कोरोनाभाइरस केही रहेनछ’ भन्ने भावना विकास हुनु पनि रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ।
त्यस्तैमध्येका एक जनस्वास्थ्यविद् डा. पाण्डे त्यस्तो व्यवहार नागरिक र सरकार दुवैले देखाएको बताउनुहुन्छ।
उहाँका भनाइमा अहिले ‘कन्ट्याक्ट ट्रेसिङ’ हुनै नसक्ने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको देखिन्छ।
त्यस्तै सीमाहरू बन्द नगरिएको र नागरिकहरूले पनि निर्बाध रूपमा आवतजावत गरिरहेकाले यसपालि पोहोरको तुलनामा थप जोखिम बढेको छ।
त्यसो हुनुमा धेरैले कोरोनाभाइरसको गत वर्षकै जस्तो अवस्था होला भनेर सोच्नु मुख्य कारक भएको उहाँको तर्क छ।


















