स्वामिनाथन नटराजन/ बीबीसी विश्व सेवा
चेन्नाई(भारत),१२ बैशाख ।’म कार्यालयबाट टाढा बसेर काम गर्ने प्रमुख कार्यकारी अधिकृत जस्तै हुँ’, टाढासम्म देखिएको हरियो धानखेत हेर्दै श्रीधर भेम्बुले भन्नुभयो।
श्रीधर र उहाँका दुई भाइ मिलेर सन् १९९६ मा अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा जोहो स्थापना गर्नुभएको थियो।
अहिले सो क्लाउड आधारित सफ्टवेयर कम्पनीमा ९ हजार ५ सय कर्मचारी छन् र फोर्ब्स पत्रिकाले उनीहरूको सम्पत्ति अढाई अर्ब रहेको अनुमान गरेको छ।
तर क्यालिफोर्नियामा करिब तीन दशक बिताएपछि श्रीधरले शान्त ठाउँमा सर्ने निर्णय गर्दै दक्षिण भारतको एउटा सानो दुर्गम गाउँमा बसाइँ सर्नुभयो।
सुविधाविहीन गाउँ
उहाँ बस्ने हराभरा गाउँ चेन्नाइबाट ६०० किलोमिटर टाढा रहेको तेन्कासी जिल्लामा पर्वत शृङ्खलाको फेदमा पर्छ।
त्यहाँ २ हजारभन्दा कम मानिस बस्छन्। त्यहाँ बाटो छैन। पानी छैन र ढल सुविधा छैन। बिजुली छ तर अनियमित छ। त्यसैले भेम्बु डिजेलबाट चल्ने जेनरेटरमा भर पर्नुहुन्छम।
सिलिकन भ्यालीभन्दा यो धेरै नै भिन्न छ। भेम्बुले कसरी त्यहाँबाट काम गरिरहनुभएको छ त ?
एउटा महत्त्वपूर्ण सुविधा इन्टरनेटले दिएको छ त्यसैले श्रीधर उच्च गतिको इन्टरनेट सम्पर्कमा रहनुहुन्छ।
एउटा ठूलो र सफल कम्पनीका हाकिम भएका कारण उहाँलाई केही फाइदा पनि छ।
‘मूल रूपमा मेरो भागमा महत्त्वपूर्ण नीतिहरूको काम आइपर्छ। कम्पनी अहिले ठूलो भएकोले धेरै निर्णयहरू टोलीसँग रहेर हामी स्थानीय रूपमै गर्छौँ’, उहाँले भन्नुभयो।
गाउँले जीवन अँगाल्दै
कुनै पनि वरिष्ठ कार्यकारी वा व्यक्तिगत सहयोगी उहाँ नजिक बस्दैनन्। तर पनि डिजिटल उद्यमी भेम्बु दैनिक कामकाजमा व्यस्त रहन रमाउँनुहुन्छ।
‘मैले एउटा टोलीको प्रत्यक्ष रूपमा नेतृत्व गर्छु। म प्रोग्रामहरूसँग निकट भएर काम गर्छु र प्रविधिसम्बन्धी केही गहन परियोजनामा काम गर्छु। सफ्टवेयर टोलीसँग काम गर्ने इन्जिनियरहरू विश्वभरिबाट छन्।’

घरबाट काम गर्दै श्रीधर : प्रविधिले गर्दा दुर्गम गाउँमा बसेर पनि काम गर्न सम्भव भएको छ
भेम्बु हालै बनाइएको दुई वटा शयन कक्ष भएको एउटा फार्म हाउसमा बस्नुहुन्छ र गाउँले तरिकाको जीवन मन पराउनुहुन्छ। उहाँको घर वातानुकूलित छैन र कारको सट्टा श्रीधर एउटा विद्युतीय रिक्सा र साइकल चलाउँनुहुन्छ।
उहाँ बेलाबेला स्थानीय मानिससँग कुरा गर्न गाउँको चिया पसलमा जानुहुन्छ।
‘मैले यहाँ खुब रमाइलो जीवन बिताइरहेको छु। मैले यहाँका र छिमेकी गाउँका मानिसहरूबारे धेरै थाहा पाउन सकेको छु।’
श्रीधर अहिले सामान्य जिन्स र टिसर्टमा देखिनुहुन्छ र कहिलेकाहीँ भारतका धेरै पुरुषले जस्तै उनी धोती लगाउनुहुन्छ।
चिरपरिचित तर सेलिब्रेटी होइन
सञ्चारमाध्यममा उहाँका बारे समाचार आउने भएर श्रीधरलाई स्थानीयले चिन्छन्। तर पनि उहाँ आफूलाई सेलिब्रेटी जस्तो मान्नुहुन्न।
उहाँले आफ्नो गाउँको नाम प्रकाशित नगर्न भन्नुभएको छ किनभने उहाँ मानिसहरू खबरै नगरी नआउन् भन्ने चाहनुहुन्छ।
‘यहाँको ग्रामीण सामाजिक जीवन निकै फरक छ। मानिसहरूसँग राम्रो साथी बनाउने समय छ। मानिसहरूले घरमा खाना खान बोलाउँछन्। हालसालै म जब छिमेकी गाउँ गएँ मैले सायद १०-१५ जनासँग कुराकानी गरेँ।’
भेम्बुका अनुसार उहाँ कहिल्यै पनि धनी र तडकभडक भएका व्यापारी हुनुहुन्थेन त्यसैले उहाँ यो गाउँमा सर्नु अघिको आफ्नो जीवन सम्झँनुहुन्न।

साइकलमा श्रीधर भेम्बु
‘मैले कहिल्यै पनि गल्फ खेलिनँ। म कहिल्यै पनि सामाजिक प्राणी थिइनँ। म व्यापारका लागि यात्रा गर्थेँ तर अब त यी सबै भिडिओमार्फत नै हुन्छ।’
आफ्नो उद्योगमा आएका पछिल्ला कुराबारे थाहा पाउन उहाँ सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ।
महामारीअघि नै घरबाटै काम
कोरोनाभाइरसको विश्वव्यापी महामारीले धेरै मानिसलाई घरबाटै काम गर्न बाध्य पारेको छ।
तर भेम्बु भने यस खेलमा निकै अघि हुनुहुन्थ्यो। उहाँले महामारी अगाडि नै कर्मचारीहरूलाई घरबाट काम गर्ने सुविधा दिनुभएको थियो।
उहाँको जोहो नामक कम्पनीले १० वर्षअघि नै भारतको तामिलनाडू राज्यमा कार्यालय स्थापना गरेको थियो। त्यसयता जोहोले भारतका थुप्रै ग्रामीण भेगमा ३० भन्दा बढी साना कार्यालयहरू खोलिसकेको छ।

आफ्नो घरमा श्रीधर
श्रीधर किन यहाँ आउनुभयो ?
भेम्बुको जम्न भारतमा भएको हो र आफ्नो स्कुले दिनमा बिदाको समय पुर्ख्यौली घरमा बिताएको समय सम्झन उहाँ मन पराउँनुहुन्छ।
अध्ययनका लागि अमेरिका गए पनि र उतै काम भए पनि उहाँ सधैँ भारतको आफ्नो गाउँमा फर्किन चाहनुहुन्थ्यो।
श्रीधरले जब सान फ्रान्सिस्कोको बे एरिया छोडनुभयो उहाँको उक्त निर्णयप्रति सहकर्मीहरू आश्चर्यचकित भएनन्।
‘एक तरिकाले भन्ने हो भने श्रीधरले सधैँ कार्यालयमा नरही टाढा रहेर नै काम गर्नुभयो। जब उहाँ क्यालिफोर्नियामा हुनुहुन्थ्यो, हाम्रा ९० प्रतिशतभन्दा बढी कर्मचारीले भारतको चेन्नाइस्थित कार्यालयबाटै काम गरेका थिए ‘, जोहो कम्पनीको मार्केटिङ तथा कस्टुमर एक्सपिरियन्सका उपप्रमुख प्रबल सिंहले भन्नुभयो।

चेन्नाइमा रहेको जोहोको कार्यालय
चेन्नइमा जोहोको ठूलो कार्यालय छ तर थुप्रै कर्मचारीहरू आफ्नो गृहनगरबाटै काम गर्न रुचाउँछन्
‘विभिन्न भूगोलमा हाम्रो टोली फैलिएकाले प्रमुख कार्यकारी अधिकृत कहाँ बस्छन् भन्ने कुराले हाम्रो कामलाई असर गर्दैन’, उहाँले भन्नुभयो।
अमेरिका, ब्रजिल र लिङ्गापुर अनि भारतका विभिन्न गाउँमा रहेका आफ्ना कर्मचारीसँग भेम्बु निरन्तर अन्तर्क्रियामा रहनुहुन्छ।
शिक्षादेखि दिक्क
आफ्नो व्यवसाय सुरु गर्नुभन्दा अघि भेम्बुले भारत र अमेरिकाका उच्च शैक्षिक संस्थामा अध्ययन गर्नुभएको थियो। तर अहिले उहाँ शैक्षिक प्रणालीको निन्दा गर्नुहुन्छ।
उहाँ मद्रासस्थित इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ गरेर त्यसपछि स्नातकोत्तर र विद्यावारिधिका लागि अमेरिकाको प्रिन्सटन विश्वविद्यालय जानुभएको हो।
तर पनि उनी आफ्नो सफलतामा शिक्षाको केही लेनादेना नभएको ठान्नुहुन्छ।
‘म गणितको माथिल्लो क्षेत्रको प्राध्यापक बन्न तयारी गर्दै थिएँ तर अहिले म सामान्य हिसाबकिताब गरिरहेको छु।’

साइकलमा श्रीधर भेम्बु
श्रीधर भन्नुहुन्छ विद्यार्थीले दैनिक जीवनमा कसरी प्रयोग गर्न सक्छन् भन्ने नबुझाई उनीहरूमा सन्दर्भ बिना सिद्धान्तको प्रवर्तन गर्नु अर्थहीन छ।
‘म तालिमले विद्युत्सम्बन्धी इन्जिनियर हुँ। मैले म्याक्सवेलको समीकरण बढेँ र अहिले त्यसबारे म केही पनि सम्झन्नँ।’
जोहो विद्यालयहरू
कसरी शिक्षा दिनुपर्छ भन्नेबारे देखाउन भेम्बुले ‘जोहो विद्यालयहरू’ बनाउनुभएको छ जसमा पढाउने र सिकाउने परम्परागत पद्धति अपनाइदैन्।
तालिमनाडूमा त्यस्ता दुई वटा विद्यालयहरू सञ्चालनमा छन्। र तेनकासी जिल्लामा रहेको एउटा विद्यालयमा श्रीधर गइरहनुहुन्छ।
उहाँको विद्यालयमा सफ्टवेयर प्रविधि, व्यवस्थापन, सिर्जनात्मक लेखन, डिजाइनजस्ता विषयमा दुई वर्ष लामो कार्यक्रमहरू सञ्चालन गरिन्छ। यी विद्यालयमा भर्ना हुनका लागि १७ देखि २० वर्ष उमेरको हुनुपर्छ र कम्तीमा १२ वर्ष आधारभूत शिक्षा पाएको हुनुपर्छ।
विद्यार्थीहरूलाई खाना खान दिइन्छ र प्रति महिना १४० डलर पनि खर्च दिइन्छ।
‘हामी प्रोग्रामिङ सिकाउँछौँ’, श्रीधर भन्नुहुन्छ, ‘यहाँ काम गर्दै सिकिन्छ।’
”तपाईँ कम्प्युटर विज्ञानको गहिरा सिद्धान्त नपढी उच्च कोटीको प्रोग्रामर बन्न सक्नुहुन्छ। यो कुरा सम्झन आवश्यक छ।”
जोहो विद्यालयहरूमा तालिम पाएका करिब ९०० विद्यार्थीहरू अहिले श्रीधरको कम्पनीमा कार्यरत छन्।

आफ्नो कार्यालयमा श्रीधर
बिल गेट्स र वारेन बफेटजस्ता केही अर्बपतिले मात्रै आफ्नो ठूलो सम्पत्तिको हिस्सा परोपकारी काममा लगाउनुभएको छ। तर भेम्बु पश्चिमा शैलीलाई नक्कल गर्न इच्छुक हुनुहुन्न। उहाँ आफ्नो व्यापारमा सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण रहेको तर्क गर्नुहुन्छ।
‘हामी धेरै गर्न चाहन्छौँ र त्यसलाई परोपकारी कामको संज्ञा दिन चाहँदैनौँ। जब हामी रोजगारीका लागि क्षमता विकासमा लगानी गरिरहेका छौँ भने हामी कम्पनीलाई मद्दत गरिरहेका छौँ र जो तालिम लिइरहेको छ उसलाई पनि सहयोग पुर्याइरहेका छौँ।’
तर श्रीधर त्यहीँ रोकिनेवाला हुनुहुन्न।
उनले दक्षिण भारतका ग्रामीण र अर्धसहरी क्षेत्रका बिरामीको आवश्यकता पूरा गर्न २ सय ५० शय्याको अस्पताल बनाउने योजना घोषणा गरेका छन्।
गत ज्यानुअरीमा श्रीधरलाई भारत सरकारले नागरिकलाई दिइने चौथो तहको राष्ट्रिय सम्मान प्रदान गरेको थियो।
श्रीधर राष्ट्रिय सुरक्षा सल्लाहकारको बोर्डमा पनि नियुक्त हुनुभएको छ।
तर के श्रीधर सधैँ गाउँमै बस्नुहोला ?

श्रीधरको गाउँ
महामारी सकिएपछि अमेरिकामा रहेको आफ्नो कार्यालयमा जाने आशामा भेम्बु हुनुहुन्छ तर उहाँका अनुसार त्यो एउटा छोटो भ्रमण मात्रै हुनेछ।
अमेरिकामा स्थायी रूपमा फर्किने कुनै योजना नरहेको र सिलिकन भ्यालीको पैसाले आफूलाई नलोभ्याउने उहाँ बताउनुहुन्छ।
‘म एउटा कम्पनी चलाइरहेको छु। यो कम्पनी धनी छ। तर त्यसको अर्थ त्यही अनुसारको जीवनशैली मेरो हुनुपर्छ भन्ने होइन। मेरो त्यसमा रुचि छैन।’ श्रीधर भन्नुहुन्छ,’म केहीका लागि पनि यो जीवन गुमाउन चाहन्नँ। हामी सोच्ने गर्छौँ कि पैसाले सबै कुरा हुन्छ। त्यो होइन। समाजसँग जोडिन आवश्यक छ।’


















