Prakash Adhikari April 26, 2021

काठमाडौं, १३ वैशाख । आज गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।

विपक्षी दलहरुले मुख्यमन्त्री गुरुड.विरुद्ध यही बैशाख २ गते अविश्वासको प्रस्तावसहितका विषयमा छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए ।

सो प्रस्तावको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुख अमिक शेरचनलाई गराएपछि उहाँले बैशाख १३ गतेदेखि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको लागि कार्यसूची तयार पारेको छ । कार्यसूची अनुसार आजको बैठकमा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्यका बोल्नुहुनेछ । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्ने समय पाउनुहुनेछ ।

प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका हुन् । उनीहरुले कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने वचन विपक्षी दललाई दिएको छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्  । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एकजना स्वतन्त्र सांसद छन् ।

माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख हुनुहुन्छ । यसैले अविश्वासको प्रस्तावमा बहुमत पुर्याउन नेपाली कांग्रेस,माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सबै सांसदहरुको मत एकठाँउमा पर्नुपर्दछ । एकमत तलमाथि हुँदा सरकार र भावि सरकारको अवस्थामा फरक आउछ ।

विपक्षीहरुले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसरत गरेको चाल पाएपछि वैशाख १ गते प्रदेश मन्त्रिपरिषद्को आकास्मिक बैठक बोलाएर सोही दिनको मध्यरात देखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख शेरचनसमक्ष सिफारिस गरी काठमाडौ हानिनुभएका मुख्यमन्त्री गुरुड.ले आफ्नो सरकार नढल्ने दावी गर्दै आउनुभएको छ।

सत्तापक्षका सांसदहरुको अनुसार सरकार जोगाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अपनाएको शैली अनुरुप जनता समाजवादी पार्टीलाई फकाउने, राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसंग विमति राख्ने प्रदेश सांसद कृष्ण थापालाई मनाउने र नेकपा माओवादी केन्द्र छोडेर एमाले छिर्नुभएका गृहमन्त्री रामबहादुर थापा निकट माओवादी सांसदहरुलाई फकाउने रणनीति मुख्यमन्त्री गुरुड.ले अपनाउनुभएको छ ।

सांसद चोरेर सरकार जोगाउने गैरसंसदीय परम्परा गण्डकीमा सफल हुन्छ हुँदैन यसै भन्न सकिदैन । गण्डकी प्रदेश राजनीतिक मूल्य,मान्यता,सिद्धान्त र संस्कारमा अरुभन्दा अलिक अगाडि नै छ ।

 

 

Share Now

Leave a comment.