Prakash Adhikari April 27, 2021

 

लिस्वन(पोर्चुगल), १४ बैशाख । पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको छ।

ज्यानुअरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबभन्दा उच्च दरको सङ्क्रमण तथा मृत्यु रेकर्ड गरिएका थिए।

तर लामो लकडाउनका कारण त्यहाँ सङ्क्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ। जुन अहिले युरोपेली युनियनकै सबभन्दा कम हो।

लकडाउन खुकुलो

त्यहाँ लकडाउन विस्तारै खुकुलो पारिँदैछ।

योभन्दा अगाडि अगस्ट महिनामा पनि त्यहाँ दिनभरिमा कोभिडका कारण शून्य मृत्यु रेकर्ड गरिएको थियो।

पोर्चुगलमा हालसम्म कोभिडका कारण १६ हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ।

त्यहाँ ८ लाख ३४ हजार कूल सङ्क्रमण रेकर्ड गरिएका छन्।

ज्यानुअरीमा सङ्क्रमण उच्चविन्दुमा पुग्दा त्यहाँ कोभिडका बिरामी बोकेका एम्बुलेन्सहरू अस्पताल सामुन्ने लाइन लागेका देखिन्थे।

सोही महिना लागु गरिएको लकडाउन विस्तारै खुकुलो पारिँदैछ।

विद्यार्थीहरू स्कूल फर्कन थालेका छन् भने सङ्ग्रहालय, केश काट्ने सैलुन अनि रेस्टुराँ एवं क्याफेहरू पुनः खुल्दैछन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले उक्त देश जोखिमस्तरको हरित क्षेत्र अर्थात् निकै कम जोखिममा रहेको छ। सङ्क्रमण एक प्रतिशतभन्दा कममा झरेको छ।

अहिले त्यहाँ देखापरेका नयाँ सङ्क्रमण दर जनसङ्ख्याको अनुपातमा युरोपेली युनियनभरिमै सबभन्दा कम छ।

पोर्चुगलमा बाँकी ईयूमा जस्तै खोप अभियानमा ढिलाइ भएको थियो। तर अधिकारीहरू भन्छन् अहिले ८० वर्षभन्दा माथि उमेर समूहका अधिकांश मानिसले खोप लगाइसकेका छन्।

सोमवार एक वरिष्ठ स्वास्थ्य अधिकारीले पोर्चुगलले गर्मीयामको अन्त्यतिर नभइ सुरुमै हर्ड इम्युनिटी हासिल गर्नसक्ने बताए।

खोप लगाएर वा धेरै जनसङ्ख्यामा सङ्क्रमण भएमा सामुदायिक प्रतिरोध हर्ड इम्युनिटी हासिल हुनसक्ने ठानिएको छ।

 

Share Now

Leave a comment.