वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १४ बैशाख (बीबीसी) । संयुक्त राज्य अमेरिकाले ६ करोड डोज खोज अन्य देशलाई सहायता स्वरुप उपलब्ध गराउने भएको छ ।
अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँडिने छ।
ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ।
विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।
आलोचनाका माझ निर्णय
अमेरिकाले खोप थुपारेको आलोचनाका माझ सो निर्णय भएको छ। जबकी राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित् नभएको बताउनुभएको छ।
छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन्।
गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गर्नुभएको थियो।
ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन्।
अमेरिकामा कति आस्ट्राजेनेका खोप छ ?
एफडिएले अनुमति नदिएपनि अमेरिकामा उक्त खोपको स्टक रहेको छ।
सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ।
साथै थप ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ।

भारतमा सङ्क्रमण
भारतमा तेज गतिमा फैलिएको महामारीका बीच अमेरिकी राष्ट्रपति बाइडनले सहयोग गर्ने बताउनुभएको छ ।
प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने बताउनुभएको छ।
ूहाम्रो टोलीले हाम्रा योजना तथा कसले खोप पाउनेछन् भन्नेबारे थप विवरण पछि बताउनेछ। अहिले हामी योजनाकै चरणमा छौँ,ू उहाँले भन्नुभएको छ।
यसबीच अमेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ।
सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपत्कालीन सहयोगको वाचा गरेको ह्वाइट हाउसले बताएको छ।
त्यस्तो सहयोगमा अक्सिजनसम्बन्धी आपूर्ति, खोप सामग्री तथा औषधि रहेका छन्।
अमेरिकाको खोप कूटनीति अवसर
बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थनी जर्कर भन्नुहुन्छ, महामारी व्यवस्थापनका सिलसिलामा अमेरिकाले प्रशस्तै कमजोरीहरू प्रदर्शन गर्यो। तर खोप उत्पादन भने तिनमा थिएनन्।
हाल बाइडन प्रशासनसँग प्रशस्त खोप स्टक रहेको छ र अब ऊ ती खोपमध्ये केही अन्य देशलाई बाँड्दैछ।
करिब ६ करोड मात्राको आस्ट्राजेनेका खोपको निर्यातसम्बन्धी अमेरिकी निर्णय त्यतिखेर आएको छ जतिखेर उसका छिमेकीहरू क्यानडा र मेक्सिको सङ्घर्षरत छन् भने भारत गम्भीर कोभिड सङ्कटमा परेको छ।
ूयसले बाइडन प्रशासनलाई खोप कूटनीतिको प्रयोग गर्ने अवसर दिएको छ। खोप निर्यात गरेर उसले अरू देशलाई पनि त्यसै गर्न प्रोत्साहन गर्नसक्छ अनि अमेरिकाका अन्य विदेशनीति प्राथमिकतालाई अघि सार्नसक्छ,ू जर्कर भन्नुहुन्छ।
कम्तीमा यसो गर्दा बाइडन प्रशासनमाथि लाग्दै आएको खोप थुपारेको आलोचना मत्थर हुने उहाँले बताउनुभयो।
हाल उक्त निर्णय कार्यान्वयनमा बाइडनका सामु खासै घरेलु चुनौती नभएको पनि उहाँले बताउनुभयो।
बाइडन प्रशासनले जुलाईसम्म सबै अमेरिकीलाई खोप दिलाउने योजनाअनुसार काम भइरहेको बताइएको छ।


















