गनी अन्सारी / बीबीसी न्यूज नेपाली
कीर्तिपुर(काठमाडौं), १५ बैशाख । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको खोप केन्द्रमा पनि मङ्गलवार खोप लगाउन चाहनेहरूको भिड थियो ।
काठमाडौं उपत्यकामा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप लगाउन खोप केन्द्रहरूमा व्यापक भिड हुँदा त्यहीँबाट सङ्क्रमण सर्ने डर भएको कतिपयले बताएका छन्।
सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई आइतवारदेखि उपत्यकामा भेरो सेल खोपको पहिलो मात्रा दिन सुरु गरेको हो।
चिनियाँ सरकारले भेरो सेल खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लामा चिनियाँ खोप वितरण भइरहेको छ।
“आजसम्म हामीले दुई लाखलाई दिइसक्यौँ। चार लाख व्यक्तिलाई दुई डोज पुग्नेगरी हामीले चीनबाट पाएका हौँ”, उहाँले भन्नुभयो।
स्थानीय प्रशासनहरूले बिहीवार बिहानदेखि लागु हुनेगरी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेपछि मङ्गलवार खोप लगाउनेहरूको भिड झन् बढेको देखिएको छ।
नेपाल प्रहरी अस्पताल पानीपोखरी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र हिमाल अस्पताल ज्ञानेश्वरमा मङ्गलवार अचाक्ली भिड भएको त्यहाँ खोप लगाउन गएकाहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
के भन्छन् खोप लिन लाइन बस्ने सर्वसाधारण ?
लाइनहरू पनि अव्यवस्थित र मानिसहरूबीच आपसमा दूरी नहुँदा खोप लगाउने ठाउँबाटै सङ्क्रमित हुनसक्ने खतरा देखिएको त्यहाँ पुगेका व्यक्तिले बताएका छन्।

कीर्तिपुर लाइन
उनीहरूले भद्रगोल देखिएका लाइनमा घण्टौँ कुरेपछि पालो पाउने गरेको बताएका छन्।
बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म नेपाल प्रहरी अस्पताल पानीपोखरीमा लाइन बसिरहेका पत्रकार लेनिन बञ्जाडेले बीबीसी न्यूज नेपालीसित भन्नुभयो, “बरु अरू अस्पतालमा अलिअलि व्यवस्थित होला। यहाँ त कुम्भमेलाजस्तै छ ।प्रहरीको छुट्टै लाइन छ। उनीहरूको आफ्नै लाइन पनि व्यवस्थित हुनसकेको देखिन्न।”
नाम खुलाउन नचाहने जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने एक युवक भिडलाई पन्छाउन भन्दै नजिकका खोप केन्द्र नगई लेलेस्थित आनन्दवन खोप केन्द्रमा पुगे।
तर त्यहाँ पनि उहाँले उस्तै अवस्था पाउनुभयो । दुई घण्टाभन्दा बढी समय लाइन बसेपछि उहाँले खोप लगाउन पाउनुभयो ।
“भिड त्यस्तै थियो। खोप लगाउनेबीच सामाजिक दूरी पनि थिएन। कोही कोही चिउँडोमा मास्क लगाएका भेटिए। लाइन नै सरिरहेको थिएन ” , भद्रगोल अवस्थाबारे उहाँले बीबीसी न्यूज नेपालीसित भन्नुभयो, “खोप केन्द्रमा खट्ने जनशक्तिलाई जसरी तालिम दिन सक्नुपर्थ्यो त्यो हामीले गर्न सकेनौँ। खोप कार्यक्रमलाई जसरी व्यवस्थापन गर्न सक्नुपर्थ्यो हामीले जानेनौँ।”
खोप लिनेहरूको लामो लाइनका कारण ज्ञानेश्वरस्थित हिमाल अस्पतालनजिकैको क्षेत्रमा पनि त्यस्तै भद्रगोल देखियो।

ललितपुरको दुर्गम क्षेत्र लेलेमा कोरोनाभाइरस खोप लगाउन लामबद्ध मानिसहरू
त्यहाँको लाइनको अवस्थालाई पनि कुम्भमेलासँग दाँज्दै एक चिकित्सक अनिल बरालले ट्वीट गर्नुभएको छ।
उहाँको भनाइ छ, “आज बिहान हिमाल अस्पतालमा खोप लगाउनेहरूको लाइन देख्दा कुम्भकै झल्को आएको थियो। सबै स्वास्थ्यसंस्थाबाट दिन मिलाउन नसकिने रहेछरु नत्र त्यो टुँडिखेलमै गरे पनि हुन्थ्यो होला नि !”
आज बिहान हिमाल अस्पतालमा vaccine को लाइन देख्दा त कुम्भकै झल्को आएको थियो…सबै स्वास्थ्य संस्थाबाट दिने मिलाउन पनि नसकिने रैछ ? नत्र त्यो टुडिखेलमै गरेपनि हुन्थ्यो होला नि !
— Anil Baral (@pokhrelinephro) April 27, 2021
व्यवस्थापनमा खटिनेहरू के भन्छन् ?
लाइन व्यवस्थापनमा खटिएकाहरूको आफ्नै गुनासो छ। चाहेर पनि व्यवस्थित गर्न नसकिएको उनीहरूको तर्क छ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा खटिएकी एक स्वयंसेविका लबिशा बस्नेत जति सम्झाए पनि मानिसहरूले नटेरेको बताउँनुहुन्छ।
“सम्झाउँदा पनि ठेलमठेल गर्छन्। माइकिङ गरेर भन्दा पनि केही लाग्दैन”, उहाँले थप्नुभयो।
उहाँका अनुसार टेकु, जडीबुटी, जोरपाटीसम्मका मानिसहरू उक्त केन्द्रमा खोप लगाउन पुगेका छन्।
“हिजो यहाँ साँझ ६ बजेसम्म लगाइएको थियो। हिजो बाँकी रहेका मानिसहरूको आज छुट्टै लाइन छ। सरकारले खोप केन्द्रहरू बढाएको भए सायद यस्तो हुन्थेन कि ?”
चिकित्सकहरुको भनाई
नेपालमा पनि कोरोनाभाइरसका निकै सङ्क्रामक मानिएका यूके भेरिअन्ट र डबल म्यूटन्ट देखिएको पुष्टि भइसकेको पृष्ठभूमिमा विशेष सर्तक हुनुपर्ने चिकित्सकहरूको सुझाव छ।
खोप लगाउन लाइन बस्ने क्रममा पर्याप्त सावधानी नअपनाइए सङ्क्रमण फैलने सम्भावनालाई नकार्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउनुहुन्छ।

प्रहरी अस्पताल महाराजगञ्जमा खोप लगाउन इच्छुक मानिसहरूको लामो लाइन थियो
“खुला ठाउँमा लाइन भएकोले लाइन बस्नेहरूले यदि सामाजिक दूरी कायम गरेका छन् र मास्क लगाएका छन् भने सङ्क्रमित हुने सम्भावना खासै हुन्न।” उहाँले थप्नुभयो, “तर मानिसहरूले यदि दूरी पनि कायम गरेका छैनन् र नाक मुख छोपिनेगरी मास्क पनि राम्ररी लगाएका छैनन् भने लाइनबाटै सर्ने सम्भावना रहन्छ ।”
सरकार र नागरिक दुवै पक्षबाट कमजोरी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी औँल्याउनुहुन्छ।
“सरकारले पनि थिति बसालेको भए र नागरिकले पनि सामान्य कुरालाई पालना गरेको भए हुन्थ्यो। यसरी भिडभाड गर्दा सङ्क्रमण फैलिने कुरा त अपेक्षित नै छ”, मरासिनीले भन्नुभयो।


















