हेटौंडा(मकवानपुर),२८ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेशसभा सदस्य डोरमणि पौडेल नियुक्त भएका छन् ।
एमाले प्रदेशसभा संसदीय दलका नेता पौडेल वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका थिए ।
१ सय १० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद) छ ।
२३ सांसद रहेको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा पौडेललाई समर्थन गरेको छ ।
दुर्इ दलको पत्र पाएपछि प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार नै साँझ पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।
भोलि विहान साढे ९ बजे शपथ राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए ।
पौडेलले प्रदेश प्रमुख कोइराला समक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनेछन् ।
लगतै साढे ११ बजे पदबहालीको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।
पौडेल शुक्रबार संसदीय दलको नेता चुनिएका थिए ।
प्रदेश ३ को सभामुखमा एमालेकै सानु श्रेष्ठ र उपसभामुखमा माओवादीकी राधिका तामाङ निर्विरोध निर्वाचित भएका छन् ।