काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसदमा बहुमत गुमाएको व्यक्तिलाई संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरी शपथ समेत ग्रहण गराएको घट्नाको विरोध गर्नुभएको छ ।
आइतबार साँझ उहाँको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा कांग्रेस सभापति देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउदै त्यहाँ भएको संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्ना गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले भन्नुभएको छ, नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन ।
नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको उल्लेख गर्दै सभापति देउवाले भन्नुभएको छ, नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ ।

उहाँले संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको स्पष्ट पार्नुभएको छ ।
कांग्रेस सभापति देउवाले भन्नुभएको छ, केन्द्रमा प्रस्तुत हुंदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ ।
उहाँले बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनी पनि दिनुभएको छ ।


















