काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका नेता एवम् नेपाल विद्यार्थी संघका संस्थापक सदस्य शिवबहादुर खड्काको आइतबार निधन भएको छ ।
संविधानसभा सदस्य समेत रहनुभएका खड्का नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापतिका साथै रामेछाप जिल्ला विकास समितिका सभापति पनि हुनुहुन्थ्यो ।
नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको रुपमा २०२६ देखि नै संघर्ष गर्दै आउनुभएका नेता खड्काको भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा निधन भएको हो ।
वि.सं.१९९७ सालमा जन्मनुभएका स्वर्गीय खड्काले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले भन्नुभएको छ — “नेपाली कांग्रेसका नेता एवं मेरा मित्र शिवबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली
कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।

सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अनुभवी र अग्रज नेतृत्वलाई गुमाएको बताउदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनासाथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
नेता खड्काको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार,महामन्त्रीद्धय डा.शशांक कोइरला र पूर्णबहादुर खड्का, सहमहामन्त्री द्धय डा.प्रकाशशरण महत र सुनिलबहादुर थापा प्रवक्ता विश्वप्रकाश शर्मा लगायत प्राय सबै केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
हार्दिक श्रद्धाञ्जली
नेपाल विद्यार्थी संघका संस्थापक नेता एवं संविधान सभा सदस्य शिव बहादुर खड्काज्युको निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ।दुःखको यो घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
जय नेपाल ।।।


नेविसंघका संस्थापक, नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य शिव बहादुर खड्काको निधनले अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ। खड्काले पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधै अनुकरणीय रहिरहनेछ। यस दुःखद समयमा परिवारमा समवेदना र स्व शिव बहादुर खड्काप्रती श्रद्धान्जली























