काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम नागरिकको पहुँचमा पुुर्याउनु पर्ने कोरोना भाइरसको खोप खरिदमा कमिशनको अत्तो थापेर गरिएको अवरोध र मूल्य बढाएर भ्रष्टाचार गर्नेमाथि छानबिन गरी कारबाही गर्न माग गर्नुभएको छ ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभएको छ, ” अहिले कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जीवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो । जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधी (खोप)को भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।”
पूर्व प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र यस घातक भारसको संक्रमणमा परेका बिरामीहरुको उपचारमा पर्याप्त ध्यान दिन नसकेकोमा पनि सरकारको कटु आलोचना गर्नुभएको छ ।
उहाँले कोभिड–१९ को महामारी दिनानुदिन विस्तार हुँदै गैरहेको र दैनिक हजारौंको संख्यामा बिरामी थप हुँदै गएको जनाउदै देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको बताउनु भएको छ ।
सभापति देउवाले भन्नुभएको छ, “अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन् ।”
कांग्रेस सभपति देउवाले आफ्नो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर नभएको बताउदै भन्नुभएको छ, “कोभिड–१९ को लामो समयसम्मको निरन्तर प्रकोपमा सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन । विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन । सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन । समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन ।”
नेपाली कांग्रेसका सभापति देउवाले अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको उल्ले ख गर्दै भन्नुभएको छ, यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग पनि गर्नुभएको छ ।
भावि सरकारको नेतृत्व लिन तयारी अवस्थामा रहनुभका नेपाली कांग्रेसका सभापति दउवाले देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्नभएको छ ।
उहाँले देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्नुभएको छ ।


















