ललितपुर, १ जेठ । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ ।
हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ ।
पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो ।
साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो ।
ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताउनुभयो । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वसम्म आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।
रथारोहण
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार बुधबार साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको थियो । आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताउनुभयो । विगत वर्षहरु झैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइएको थियो ।
पूर्वनिर्धारित कार्यक्रम र परम्परा अनुसार रथारोहणको चौथों दिन शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानिने डंगोलले जानकारी गराउनुभयो ।
बुधबार पनि ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण साइत बिहानै भएपनि आवश्यक तयारी नपुगेर साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाएर साइत छोपियो भन साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको थियो ।
हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी करुणामयलाई रथमा विराजमान गराइएको गुठीका कीर्तिकिशोर जोशीले बताउनुभयो ।
लोकेश्वरलाई रथारोहण गर्न लानुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल उहाँको पाउमा अर्पण गरिन्छ । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्ने चलन छ ।
भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रूपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने गरिन्छ । लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्छ्न भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओठाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु¥याइन्छ र पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण सम्पन्न भएको रथमा लोकेश्वरलाई विराजमान गराइन्छ ।
गत वर्ष भने कोरोना महामारीका कारण नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा लोकेश्वरलाई रथारोहण गराइएको थियो । यो वर्ष कोभिड त्रास हुँदाहुँदै पनि सदियौँ वर्षअघि देखि चल्दै आएको चलनानुसार रथारोहण र रथ तान्ने जात्रा सानो तहमा विधिपूर्वक मनाइएको हो । यही वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराउने काम सम्पन्न गरिएको थियो ।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको हो ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उहाँले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाउनुभयो । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुप कामाख्याबाट नेपाल ल्याइएको थियो ।
काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै रक्तवलोकेश्वरलाई उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ गर्छन र जात्रा पनि मनाउने गर्दछन् ।
रथयात्रामा करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा बरदेवले बनाउने चलन चलाएका पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन् ।”
रक्तावलोकितेश्वर मुहार अरुणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी गराउनुभयो । वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्कोटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।








