गलकोट(बाग्लुड.), ११ जेठ । कोरोना सङ्कटसँग जुध्न ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत लगानीमा अक्सिजन सिलिण्डर तथा नगद सहयोग गर्नुभएको छ । नगरप्रमुख नेपालीले व्यक्तिगतरूपमा ६० थान अक्सिजन सिलिण्डर र नगद रु पाँच लाख सहयोग गर्नुभएको हो ।
उहाँले धवलागिरि अस्पताललाई नगदसहित ३० थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।
कोरोना महामारीमा नागरिकको जीवनरक्षा आफ्नो प्रमुख दायित्व भएको भन्दै उहाँले व्यक्तिगतरूपमा रु पाँच लाखसहित ३० अक्सिजन सिलिण्डर अस्पतालनै पुगेर हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरप्रमुख नेपालीले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरलाई नगद तथा सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।
अक्सिजनले भरिएका ३० सिलिण्डर करिब रु नौ लाखको लागतमा अस्पताललाई प्रदान गरेको उहाँले बताउनुभयो । नगरप्रमुख नेपालीले आफूले व्यक्तिगतरूपमा ६५ थान अक्सिजन सिलिण्डर खरिद गरेकामा ३० थान धवलागिरि अस्पताललाई र ३० थान आफ्नो नगरपालिकाको केन्द्रमा रहेको बुर्तिवाङ प्राथमकि स्वास्थ्य केन्द्रलाई सहयोग गरेको बताउनुभयो । यस्तै आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा भनेर पाँच सिलिण्डर अक्सिजन पोखरामा राखेको बताउनुभयो ।
“नागरिकको जीवन रक्षाका लागि सानो भएपनि सहयोग गरेको छु”, नेपालीले भन्नुभयो “सामान्य कोरोनाका बिरामीको ढोरपाटनमा उपचार गरिनेछ भने जटिल प्रकारका बिरामी धवलागिरि अस्पताल पठाइने भएकाले अस्पताललाई नगदसहित अक्सिजन सहयोग गरेको हूँ ।” धवलागिरि अस्पतालमा नगरप्रमुख नेपालीले प्रदान गरेको ३० थान अक्सिजनसहित १३६ अक्सिजन सिलिण्डर अस्पतालको स्वामित्वमा र फिर्ता गर्ने गरी व्यवसायीले प्रदान गरेका ५३ अक्सिजन सिलिण्डर छन् ।
कोरोना महामारीमा अस्पतालमा अक्सिजन सिलिण्डर कमी भएर नागरिकको उपचारमा समस्या नहोस् भन्नका लागि नगरप्रमुख नेपालीले नगदसहित सिलिण्डर सहयोग गर्नु अत्यन्तै सराहनीय काम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरले बताउनुभयो । अस्पतालमा केही दिनमै नयाँ अक्सिजन प्लान्ट स्थापना गर्ने नेपाल सरकारको तयारीसमेत छ ।


















