काठमाडौं, १६ जेठ । सरकारले सार्वजनिक संस्थानहरुको कार्यक्षमता अभिवृद्धि गरी तिनलाई देश र जनताको अधिकतम् हितमा सेवा पुर्याउदै प्रतिस्पर्धी उच्च प्रतिफल दिने अवस्था पुर्याउने नीति अनुरुप यस बर्ष नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को २२ प्रतिशत सेयर ग्राहकहरुलाई बिक्री गर्ने भएको छ भने धराशायी अवस्थामा पुग्न लागेको नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याइने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गर्नुभएको अध्यादेशबाट ल्याइएको बजेटमा आगामी आर्थिक वर्षमा टेलिकमको २२ प्रतिशत सेयर सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिहरुलाई बिक्री गर्ने घोषणा गरिएको छ ।
टेलिकमको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट प्रयोग गर्ने प्रकृतिक व्यक्तिहरुलाई सेयर विनिवेश गर्न लागिएको हो ।
हाल सेवा प्रयोग गरिरहेका र २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकहरुले सेयर खरिदमा समावेश हुन सक्नेछन् । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गरिने अर्थमन्त्रीले बजेटमा उल्लेख गर्नुभएको छ ।
सेयर खरिदमा प्रकृतिक व्यक्तिमात्र सहभागी हुन सक्नेछन् ।
निगममा रणनीतिक साझेदार
सधैभरी आर्थिक अनियमितता र भ्रष्टाचारमा बदनाम बन्दै आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायसुेवा निगमको पुनः संरचना गरी यसलार्य व्यावसायिक एवम् प्रतिस्पर्धी बनाउन सरकारले प्रतिस्पर्धाको माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेको छ ।
बजेट वक्टव्यको पृष्ठ ८८ को बुँदा नम्बर ४२७ मा यो कुरा उल्लेख गरिएको छ । बजेटमा निगमको सेयर पूँजी संरचना परिवर्तन गरी बृद्धि गरिने बताइएको छ ।


















