Prakash Adhikari June 3, 2021

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका पुराना नेता तथा पूर्वमन्त्री प्रदीप नेपालले प्रधानमन्त्री के.पी. शर्मा ओलीमाथि रुसी कम्युनिष्ट पार्टीका महासचिव तथा मन्त्रिपरिषद्का अध्यक्ष स्टालिन जस्तै तानाशाही प्रवृत्तिको मानिस भएको गम्भीर आरोप लगाउनुभएको छ ।

उहाँले आगामी आर्थिक बर्षको लागि अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नुभएको बजेटका सम्बन्धमा सरकारको पूर्ण स्वामित्वमा रहेको गोरखापत्र संस्थानको मुख्यप्रकाशन गोरखापत्र दैनिकका बजेटको सन्तुलित व्याख्यासम्बधी लेखमा वर्तमान प्रधानमन्त्रीमाथि यति गम्भीर आरोप लगाउनुभएको हो ।

वजेटमा राखिने कार्यक्रम यथार्थवादी र हासिल गर्न सकिने हुनुपर्ने जिकिर गर्दै नेता नेपालले भन्नुभएको छ, “पार्टी चलाउनु र सरकार चलाउनु भिन्न कुरा हुन् । अध्यक्ष ओली जनकार्य गरेर आउनु भएको होइन । त्यसैले उहाँ अन्तरपार्टी जनवाद दिनु हुन्न । उहाँ माक्र्सवादी पनि हुन सक्नु हुन्न जति कोसिस गरे पनि उहाँबाट माक्र्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ । स्टालिनकालीन विकास विश्वको नमूना हो । तर कम्युनिस्ट पार्टीमा उहाँ साँच्चिकै तानाशाहे हो । केपी ओलीलाई पनि यस्तै मान्छे मान्न सकिन्छ ।”

बजेटको सन्तुलित व्याख्या : प्रदीप नेपाल

उहाँले प्रधानमन्त्री के.पी. ओली पहिलोपटक प्रधानमन्त्री भएपछि तुइन विस्थापनका बारेमा उल्लेख भएको कार्यक्रमको चर्चा गर्दै सो कुरा बताउनुभएको हो ।

के हो स्टालिनपन्थ ?

सन १८५३ मा जर्जियामा जन्मनुभएका जोसेफ भिसारोनोभिच स्टालिन सन १९२७ देखि १९५३ सम्म तात्कालीन सोभियत संघको शासक रहनुभएको थियो । सन १९२२ देखि १९५२सम्म सोभियत युनियनको कम्युनिष्ट पार्टीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएका स्टालिन १९४१ देखि १९५३सम्म सोभियत युनियनको मन्त्रिपरिषद्को अध्यक्ष रहनुभएको थियो ।

 

लेनिनको समयमा सन् १९१७ मा कम्युनिष्ट पार्टीको हातमा सत्ता आएपछि सामूहिक नेतृत्वमा सरकार सञ्चालन गरिएपनि उहाँ पार्टीको महासचिव भएपछि शक्ति एकीकृत गर्दै सन् १९३० देखि नै अधिनायकवादी शासकको रुपमा राज्य सञ्चालनमा उहाँको भूमिका निर्णायक हुँदै गएको थियो । लेनिनले परिभाषित गरेर व्यवहारमा उतारेको माक्र्सको विचारधारालाई माक्र्सवादी लेनिनवादी विचार धारा भन्ने नामाकारण गर्नुभएका स्टालिनले आफूले अंगीकार गरेका नीति र नियमहरुलाई भने स्टालिनवाद भन्ने गरिन्छ ।

रुसको अक्टोवर क्रान्तिको सफलतापछि लेनिनको नेतृत्वमा सन १९१७ मा एक दलीय राज्य स्थापना भएपछि पोलिटव्यूरोमा छिर्नुभएका स्टालिन सन १९२२ मा सोभियत युनियन स्थापना अगाडिको गृहयुद्धमा पनि संलग्न हुनुभएको थियो । सन १९२४ मा लेनिनको देहावसान भएपछि उहाँले नेतृत्व सम्हाल्नुभएको थियो ।

केन्द्र शासित आर्थिक नीति अबलम्बन गर्दै तीव्र औद्योगिकरण गरिएपछि कृषिमा सामूहिक कृषिको अवधारणा ल्याइयो र यसले कृषि उत्पादनमा असर पारी सन १९३२ देखि ३३ सम्म ठूलो अनिकाल निम्त्यायो । त्यसपछि श्रमिक वर्गका दुश्मनहरु उन्मूलन गर्न स्टालिनले एक वृहत् सफाई अभियान सञ्चालन गर्नुभयो । यस क्रममा सन १९३४ देखि १९३९ को वीचमा झण्डै १० लाख मानिसहरु जेलमा कोचिए र ७ लाख मानिसहरुलाई मृत्युदण्ड दिइयो । सन १९३७ मा पार्टी र सरकार दुवै उहाँको पूर्ण नियन्त्रणमा आयो ।

कम्युनिष्ट इन्टरनेशनल स्थापना गरेर सन १९३० को दशकमा स्पेनको गृहयुद्धमा फाँसीवादविरुद्धको लडाइमा समर्थन गरेको स्टालिनको सरकराले १९३९ मा हिटलरको नाजी जर्मनीसंग एकर्काविरुद्ध अनतिक्रम्य संझौता गरेको थियो । तर यसले पोल्याण्डमाथि गरेको हस्तक्षेपपछि दोस्रो विश्वयुद्धको अवसरमा जर्मनीले सन १९४१ मा रुसमाथि आक्रमण गर्यो । सुरुमा हारेपनि रुसको लालसेनाले जर्मनीलाई परास्त गर्दै १९४५ मा बर्लिनमाथि कब्जा जमायो । दोस्रो विश्वयुद्धको अन्तसम्म सोभियत रुसले बाल्टिक राज्यहरुसबैलाई आफूमा गाभ्यो र सम्पूर्ण केन्द्रीय र पूर्वीयुरोप, चीन र उत्तर कोरियामा सोभियत रुस समर्थित सरकार निर्माण गर्यो । र सोभियत संघ अमेरिकालाई टक्कर दिने शक्ति बन्यो ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि पनि पुनर्निर्माणको काम स्टालिनकै नेतृत्वमा सुरु भयो । शक्तिको होडमा सन १९४९ मा आणविक हतियारको विकासमा केन्द्रित भएपछि देशमा फेरी भोकमरी सुरु भयो । सन १९५३ मा स्टालिनको मृत्युभएपछि निकिता ख्रुश्चेभ शक्तिमा आउनुभयो । उहाँले स्टालिन पन्थलाई मुलुकलाई मुक्ति दिनुभयो । कम्युनिष्ट शासनमा पनि व्यक्तिवादी गुट सञ्चालन गरी सम्पूर्ण राज्यशक्ति केन्द्रित गरेकोमा स्टालिन पथ बदनाम छ ।

 

Share Now

Leave a comment.