Prakash Adhikari June 3, 2021

काठमाडौँ , २० जेठ । कोरोना संक्रमणबाट सिकिस्त भएर स्वास्थ्य लाभ गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले सम्पूर्ण नेपालीलाई महामारीबाट जोगिन पूर्वसावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

आफ्नी धर्मपत्नी पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई साथमा राखेर बिहिबार सार्वजनिक गर्नुभएको एक भिडियो सन्देशमा उहाँले महामारी र विपत्तिको यस संकटपूर्ण घडीमा आफ्नो स्वास्थ्यको ख्यालराखी जीवन सुरक्षित राख्न स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुमा अनुरोध गर्नुभएको हो ।

पूर्वराजदम्पत्तिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोगबाट नेपालीहरुलाई बचाउन अग्रपंक्तिमा रहेर रोकथाम,नियन्त्रण र उपचारमा खट्नुहुने स्वास्थ्यकर्मी, सरसफाईकर्मी,सुरक्षा कर्मी, एम्बुलेन्सलगायतका सवारी चालक र समाजसेवी सबैलाई हृदयदेखि धन्यवाद पनि दिनुभएको छ ।

पूर्र्व राजा ज्ञानेन्द्रले आफ्नो सन्देशमा यस्तो महामारीबाट देश र जनतालाई जोगाउन राष्ट्रिय संकल्प अत्यावश्यक रहने भन्दै महामारीको बेलामा राजनीतिक लाभका लागि झगडामा अल्झिरहेको सरकार र सत्तारुढ दल तथा विपक्षी राजनीतिक नेताहरुलाई स्मरण पनि गराउनुभएको छ । उहाँले आफ्नो क्षमताले नभ्याउने स्तरको महामारी भएकोले विदेशी सहयोग लिन पनि आग्रह गर्नुभएको छ ।

पूर्वराजदम्पत्तिले केही समयपहिले आफूहरु पनि कोरोना संक्रमणमा परेर स्वास्थोउपचार गरी स्वास्थ्य लाभ गरिरहेको बताउदै संक्रमण परेर स्वास्थ्यलाभ गरिरहेको क्षणसम्म स्वास्थ्यलाभको कामना गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले आम नागरिकलाई तपाईको आदरार्थीभावले सम्बोधन गर्दै यस घातक भाइरसको संक्रमणमा परेर उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै कोभिड–१९ का कारण निधन भएकाहरुको चीरशान्तिको कामना गर्नुभएको छ । उहाँले कोरोना भाइरसको संक्रमणको कारण जीवन गुमाउने नेपालीहरुका परिवारमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्रार्थना गर्नुभएको छ ।

राजदम्पत्तिले भिडियो सन्देशमा नेपाललाई कोरोनाको महामारीबाट बचाउन मित्र राष्ट्र तथा दातृ निकायबाट प्राप्त सहयोगको लागि अन्तर्राष्ट्रिय जगतलाई पनि धन्यवाद दिनुभएको छ।

भारतको हरिद्धारमा कुम्भ मेलाको शाही स्नानमा मुख्य अतिथिको रुपमा सहभागी बन्नुभएका राजदम्पत्ति बैशाख ५ गते स्वदेश फर्कनुभएको थियो । भ्रमणबाट फर्किएपछि पूर्व राजदम्पत्ति र उहाँकी सुपुत्री प्रेरणाराज्य लक्ष्मी शाहमामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

बैशाख ११ गते नर्भिक भर्ना हुनुभएका उहाँहरु मध्ये पूर्व राजा बैशाख २९ गते र रानी कोमल तथा छोरी प्रेरणा बैशाख ३१ गते डिस्चार्ज हुनुभएको थियो ।

 

 

Share Now

Leave a comment.