Prakash Adhikari June 9, 2021

मेक्सिको सिटी(मेक्सिको), २६ जेठ(बीबीसी) । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा मेक्सिको पुग्नुभएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिका र मेक्सिकोको सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढिरहेको छ।

कीर्तिमानी सङ्ख्यामा आप्रवासीहरूले सीमा पार गरिरहँदा यो विषय उठेको हो।

एकजना समाचार प्रस्तोताले अमेरिकाको उत्तरी सीमा क्षेत्रमा किन नगएको भन्दै प्रश्न गरेपछि ह्यारिसले त्यसलाई टार्नुभएको थियो।

गैरकानुनी आप्रवासनबारे चेतावनी दिएपछि आफ्नै डेमोक्र्याटिक दलका नेताहरूले उहाँको चर्को आलोचना गरिरहेका छन्।

दुई दशकभन्दा यताकै उच्च अर्थात् १ लाख ७८ हजार आप्रवासीहरू एप्रिल महिनामा सीमामा पुगेका थिए।

सीमा भ्रमणको प्रश्न छल्ने प्रयास

उपराष्ट्रपतिका एकजना सहयोगीले प्रारम्भिक अवस्थामा सीमाना ह्यारिसको जिम्मेवारीमा पर्ने बताउनुभएको थियो।

मार्च महिनामा राष्ट्रपति जो बाइडनले उहाँलाई ल्याटिन अमेरिकाबाट भइरहेको आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी दिनुभएको थियो।

तर पछिल्लो समयमा उहाँका सहयोगीहरूले राजनीतिक रूपमा विवादित मुद्दाबाट ह्यारिसलाई अलग गर्ने प्रयास गरिरहनुभएको छ।

पछिल्लो सर्वेक्षणहरूमा अर्थतन्त्र र महामारीबारेका बाइडन सरकारका नीतिहरूलाई सकारात्मक रूपमा लिइए पनि आप्रवासनलाई सम्बोधन गर्ने प्रयास त्यति लोकप्रिय पाइएको छैन।

एनबीसी न्यूजको मङ्गलवार बिहान प्रसारित अन्तर्वार्तामा ह्यारिसलाई सीमा क्षेत्रको भ्रमण गर्ने योजनाबारे सोधिएको थियो।

शिविर
शिविरमा राखिएका आप्रवासी बालबालिका

जवाफमा उहाँले कुनै समय हामी सीमामा जानेछौँ र हामी सीमा क्षेत्रमा गएका छौँ भनेर जवाफ दिनुभएको थियो।

त्यसपछि प्रस्तोताले उहाँ स्वयं सीमा क्षेत्रमा हालसम्म नगएको भन्ने अर्को प्रश्न गरेपछि हाँस्दै उहाँले आफू युरोप पनि नगएको भन्दै तपाईँले उठाइरहेको सवाल मैले बुझ्न सकिन् भन्नुभयो।

मेक्सिकोमा संवाददाताहरूसँगको छलफलमा पनि सीमामा नगएको विषयमा प्रश्न गरिएपछि उपराष्ट्रपति ह्यारिसले त्यो भन्न सजिलो भएको र भ्रमण गर्दैमा समाधान ननिस्कने बताउनुभयो।

उपराष्ट्रपति ह्यारिसले आफू क्यालिफोर्नियाको सिनेटर हुँदा सीमा क्षेत्रको भ्रमणमा गएको बताउनुभयो।

डेमोक्रयाट्सहरूले किन आलोचना गरिरहेका छन्

कूटनीतिक सम्बन्ध अभिवृद्धि र गैरकानुनी आप्रवासन नियन्त्रण गर्ने उद्देश्य सहित ग्वाटमाला र मेक्सिकोको दुई दिने भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग भेटवार्ता गरेपछि उपराष्ट्रपति ह्यारिसका पछिल्ला भनाइ आएको हो।

यसअघि मेक्सिकोको राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले गैरकानुनी आप्रवासीको सङ्ख्या कीर्तिमानी रूपमा बढ्नुको कारण बाइडन प्रशासन रहेको बताउनुभएको थियो।

आप्रवासी
एरिजोनामा थुनामा लिइएका एक आप्रवासी

उपराष्ट्रपति ह्यारिसले एक घण्टाभन्दा बढी उहाँलाई भेटेको बताइएपनि आप्रवासन नियन्त्रणका लागि कस्ता कदम चाल्न भनेको प्रस्ट भइसकेको छैन।

उहाँले मेक्सिकोका श्रमिकको अधिकारका लागि १ सय ३० मिलियन डलर अमेरिकी सहयोगको घोषणा गर्नुभयो।

उहाँले मध्य अमेरिकामा महामारी र अघिल्लो वर्षको आँधीको प्रभावलाई कम गर्न ३ सय १० मिलियन डलर साहयता दिने बताउनुभएको छ।

ग्वाटमालामा उहाँले गरेको सम्बोधनले बाइडेन प्रशासनको वाचा तोडेको भन्दै उहाँको आलोचना भइरहेको छ।

ह्यारिसले गैरकानुनी आप्रवासीलाई सिमानामा नआउन भन्दै आए फिर्ता गरिने चेतावनी दिनुभएको थियो ।

सन् २०१९ मा राष्ट्रपतीय चुनाव लड्दै गर्दा उहाँले कागजपत्र नभएका आप्रवासीलाई फिर्ता गरेकोमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको थियो ।

Share Now

Leave a comment.