Prakash Adhikari June 15, 2021

काठमाडौं, १ आषाढ । कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् ।

पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका हुन् ।

यसबाट निजी पम्पहरु प्रभावित भएका छन् । सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानून लागु गरेको स्थितिमा ढुवानी बन्द भएको छ ।

चालक संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको जानकारी दिनुभयो । ढुवानीकर्ताको अवरोधका कारण सोमबार र मंलगबार  पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ ।

मंगलबारदेखि निषेधाज्ञामा केही खुकुलो भएसगैँ पेट्रोलियम पदार्थको अभाव हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले जनाएको छ ।

आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिदा मङ्गलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १ सय ७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

सिसीएमसीसँग खोप माग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै उद्योग मन्त्रालयले पेट्रोल तथा ग्यास व्यवसायीलाई लगाउन १ लाख ५७ हजार ५ सय ९६ डोज खोप उपलब्ध गराउन माग गरेको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय महासंघलाई १० हजार ३ सय ४६ डोज, नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई १ लाख ४० हजार डोज र ग्यास बिक्रेता महासंघलाई ४ हजार ६ सय डोज खोप उपलब्ध गराउन मन्त्रालयले माग गरेको छ ।

यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ थानकोटलाई १५ हजार, नेपाल आयल निगमलाई १ हजार डोज र साल्ट ट्रेडिङ कर्पोरेशनलाई १ सय ५० डोज खोप उपलबध गराउन माग गर्दै मन्त्रालयले सोमबार कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखेको हो

अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरमा ध्यान, खोपमा छैन

बैशाख महिनाको मध्यसंगै नेपालमा बढ्न थालेको कोरोनाको दोस्रो लहरले अत्तालिएको सरकारले नेपालका विकास साझेदार, निकट छिमेकी भारत र चीनसहित नेपालमा कार्यरत कुटनीतिक नियोक र विकास साझेदार संस्थासहित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंग अक्सिजन सिलिण्डर,अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, टेष्ट किट, अस्पतालका बेडहरु लगायत नर्स र डाक्टरहरुको लागि पीपीई, सर्जिकल माक्स लगायतका सामानहरु माग गरेको थियो ।

प्रायः सबै मुलुकहरुले आफ्ना सहयोग सामग्री पठाइसकेका छन् । कोरोना भाइरसको फैलावटको साड.लो चुडाल्न स्वदेशमा अबलम्बन गरिएको निषेधाज्ञा र विदेशबाट प्राप्त स्वास्थ्य उपकरणको परिचालन र स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट अहिले  कोरोनाको संक्रमण र दैनिक मृत्युदर निकै कम भएको छ ।

तर कोरोनाको अर्को लहर रोक्नका लागि आम नागरिकलाई यस घातक रोगबाट बचाउनका लागि सरकारले यो बीचमा कुनै सिन्को भाँच्न सकेन । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि जिनफिड.लाई हारगुहार गरेर १० लाख डोज खोप मगाउन बाहेक प्रधानमन्त्री के.पी.ओलीका सरकारले न अनुदानमा एक मात्रा खोप अन्तबाट जुटाउन सकेको छ न खोप किनेर ल्याउन सकेको छ ।

तात्कालिन स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले फागुन महिनामा किन्न खोजेको ५० लाख खोपका प्रधानमन्त्री ओली निकटका व्यापारीहरु एजेण्ट बनेर घुस्न थालेपछि ५० लाख मात्र खरिदको प्रक्रिया तुहियो नै पैसा तिरिसकेको १० लाख मात्रा खोप पनि भारतबाट आउन सकेको छैन ।

पेट्रोलिय पदार्थको ढुवानीकर्ता चालकहरुको खोप मागलाई सरकारले समुचित ढंगले सुल्झाएन भने निषेधाज्ञा कै बीचमा पनि नेपालमा पेट्रोलियम पदार्थको हाहाँकार मच्चिने स्थिति छ ।

 

Share Now

Leave a comment.