काठमाडौं, १ आषाढ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न सभाले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीले विशेष प्रस्ताव अन्तगर्त ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
साधारण सभाले आर्थिक वर्ष २०७५ । ७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५ । ७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण पनि पारित गरेको छ ।
कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालयबाट सञ्चालित भिडियो कन्फरेन्सको माध्यमबाट सम्पन्न उक्त साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गर्नुभएको थियो।
साधारण सभालाई संबोधन गर्दै कम्पनीका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव जस्ता चुनौती रहे पनि कम्पनीले त्यसलाई चिर्दै जीवन बीमाको पँहुच देशव्यापी बनाउने कार्यक्रम तय गरेको बताउनुभएको थियो ।


















