Prakash Adhikari February 16, 2018

काठमाडौं, ४ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेताको रुपमा बिश्वकप छनौट खेल्न छनौट भएको नेपाली टिम शनिबार स्वदेश फर्कनेछ।

डिभिजन-२ को लिग चरणमा ५ मध्ये ४ खेलमा जित र १ खेलमा हार सहित अंकतालिकाको शीर्षस्थानमा रहँदै जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा सिट पक्का गरेको हो।

डिभिजन-२ को फाइनलमा भने नेपाल युएईसंग पराजित हुनपुग्यो र उपविजेताको रुपमा प्रतियोगिताको अन्त्य गर्यो।

नेपाली टिमका ब्यबस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार नेपाली टिम शनिबार राति ७: ५५ बजे इतिहाद एअरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नेछ।

नेपालको समुहमा अफगानिस्तान र जिम्बाबे

डिभिजन-२ को उपविजेता नेपाली क्रिकेट टिमले मार्च ४ देखि २५ सम्म जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ।

बिहिबार सम्पन्न डिभिजन-२ को फाइनलमा नेपालले युएईसंग ७ रनको पराजय बेहोरेको हो।

बिश्वकप छनौटमा नेपाल र युएई सहित वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग गरि कुल १० टिम सहभागी हुनेछन्। सहभागी १० टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ।

डिभिजन-२ बिजेता युएई समुह ‘ए’ मा रहनेछ जुन समुहमा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी छन् भने नेपाल समुह ‘बि’ मा रहनेछ। नेपालको समुहमा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेल ४ मार्चमा जिम्बाबेसंग खेल्नेछ।यस्तै दोश्रो खेल ८ मार्चमा स्कटल्याण्डसंग, तेश्रो खेल १० मार्चमा अफगानिस्तानसंग खेल्नेछ। प्रतियोगिता अघि नेपालले २ वटा अभ्यास खेल खेल्नेछ। युएईसंग २७ फेब्रुअरी तथा हंगकंगसंग १ मार्चमा अभ्यास खेल खेल्ने तालिका रहेको छ।

आईसीसी बिश्वकप छनौटबाट उत्कृष्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्व कप खेल्न छनौट हुनेछ।
आईसीसीले प्रतियोगितामा उत्कृष्ट ३ एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय राष्ट््रको मान्यता पाउने बताएको छ।

सहभागी टिमहरु : वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, युएई र नेपाल

प्रतियोगिताको फर्म्याट

सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृष्ट -३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र ।)

समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )।

सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।

वरियतामा उत्कृष्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेष्ट राष्ट्ले पनि बिश्वकप छनौट खेल्दैछन्।

त्यसबाहेक नयाँ टेष्ट राष्ट््र अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी विश्व कप छनौट खेल्नेछन्।

Share Now

Leave a comment.