Prakash Adhikari June 24, 2021

 

काठमाडौं, १० आषाढ । नेपालमा कोरोना भाइरस परीक्षणका लागि लिइएका नमूना स्वाबमध्ये २० प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य बुलेटिनको विवरणमा सो कुरा उल्लेख गरिएको छ ।

नेपालमा विगत २४ घण्टामा लिइएको नमूनाहरुमध्ये २ हजार ४ सय ७४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको भेटिएको छ भने यही अवधिमा कोरोना भाइरसको संक्रमणसम्बन्धी कारणबाट २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार २ सय ३२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ४ हजार ९ सय ९७ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

यो संख्या कुल परीक्षणको २० प्रतिशत हो।

सो अवधिमा २ हजार ५ सय १८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९०.५ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै ६ लाख ६० हजार पुगेको छ भने मृतकको सङ्ख्या ८ हजार ९ सय १८ पुगेको छ।

अहिले नेपालमा कुल ४६ हजार ५ सय २ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३ हजार ५३ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ९ हजार १ सय ७६ जना काठमाडौं उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ३६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १९ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौंं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमण उच्च रहेका जिल्लाहरू

आइतवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३ सय ४६ जना काठमाडौंका रहेका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा ५७ र ललितपुरमा ९४ जना सङ्क्रमित थपिएका छन्।

एक सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लाहरू सुनसरी (१७६), मोरङ (१७२) र झापा (१२०) रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७ सय ३४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २ सय १३ जना भेन्टिलेटरमा छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२ प्रतिशत महिला छन् भने ६०.८ प्रतिशत पुरुष छन्।

भारतको स्थिति
भारत सरकारका अनुसार अहिलेसम्म ३ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ९१ हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।

सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ९७ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख ४ हजार, पश्चिम बङ्गालमा १४ लाख ८७ हजार, बिहारमा ७ लाख २० हजार र उत्तराखण्डमा ३ लाख ३९ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

भारतमा बिहिवार बिहानसम्मको तथ्याङ्क

  • निकोः २,९०,६३,७४० (९६.६१ प्रतिशत)
  • सक्रिय सङ्क्रमणः ६,२७,०५७ (२.०८ प्रतिशत)
  • मृत्युः ३,९१,९८१ (१.३० प्रतिशत)
    (बीबीसी नेपालीबाट)
Share Now

Leave a comment.