काठमाडौं, १० आषाढ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवे प्रधानमन्त्री के.पी.ओलीको अहंकारी,अधिनायकवादी र स्वेच्छारी शासन शैली र राष्ट्रपति विद्यादेवी भण्डारीको उहाँको सिफारिसलाई आँखा चिम्लेर अनुमोदन गर्ने लाचार प्रवृत्तिले नेपालमा संवैधानिक र राजनीतिक संकट गहिरिदै गएको बताउनुभएको छ ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीले गर्नुभएका गैरसंवैधानिक र लोकतन्त्रविरोधी काम कारबाहीको विरुद्धमा उत्रेका ५ राजनीतिक दलका नेताहरुले बिहिबार नयाँ बानेश्वर काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाहरुले सो कुरा बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभयो।
प्रतिनिधि सभा विघटन विरूद्धमा राजनीतिक र कानुनी दुवै मोर्चाबाट चुनौती दिइरहनुभएका नेताहरुका बीचमा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले हालसम्म आफूले गरेको गलत कामका लागि माफि माग्नुपर्ने बताउनुभयो । उहाँले ओलीले कोर्स करेक्सन गरेर आए आगामी राजनीतिक यात्रामा सहभागी गराउन सकिने संकेत पनि गर्नुभयो ।
आफूमाथि पूर्वाग्रही रुपमा गरिएको कारबाहीलाई वास्ता गर्न छोडेको बताउदै नेता नेपालले ‘देश र जनताभन्दा माथि अरू कोही हुन सक्दैन भन्दै आफूहरुले देश,जनता,संविधान र लोकतन्त्रको पक्षमा काम गरिहेको दावी गर्नुभयो ।
उनले संविधानमा नभएको अधिकार प्रयोग गरेर गरिएको प्रतिनिधि सभाको विघटन बदर हुनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २ २ पटक विघटन गरेको उल्लेख गर्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले निरंकुश र स्वेच्छाचारी शासनको अभ्यास गरिरहेको उल्लेख गर्दै आफूहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ जनाको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिएको बताउनुभयो।
उहाँले राष्ट्रपतिमा प्रधानमन्त्रीमा ओलीबाहेक अरु व्यक्ति नआवस भन्ने मनशाय रहेको जस्तो देखिएको बताउदै अदालतबाट आफूहरुले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।