लामाबगर(दोलखा),१३ आषाढ । राष्ट्रिय गौरवको आयोजना मानिएको नेपाली,स्रोत,साधन र नेतृत्वमा बनेको नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको समान उत्पादन क्षमताका ६ युनिट मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिट आइतबारबाट सञ्चालनमा आउने भएको छ ।
४ सय ५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी आयोजनाको निर्माण सम्पन्न भई सुरुड. लगायतका भौतिक संरचनाको परीक्षण भैसकेकोले विद्युत परीक्षण उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागिएको हो।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार ४ सय ५६ मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन हुनेछ। आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा युनिटहरु रहेका छन् ।
तामाकोसीबाट उत्पादित विद्युत २२० के.भी. प्रशारण लाईनमार्फत न्यू खिम्ती सबस्टेशनमा ल्याई राष्ट्रिय प्रशारण लाईनमा जोडिनेछ । खिम्तीबाट २२० के.भी.प्रशारणलाईन ढल्केबारसम्म विस्तार भैसकेको छ भने खिम्ती–लामोसाँघु १३२ केभीको प्रशारण लाइनबाट त्यहाँ उत्पाादित विद्युत राजधानी ल्याइने छ । तामाकोशी करिडरको विद्युत खिम्तीबाट काठमाडौंसम्म ल्याउन २२०/ ४०० के.भी. प्रशारण लाइन पनि बन्दैछ ।
परीक्षण उत्पादनमा रहेको र राष्ट्रिय प्रशारणमा ७६ मेगावाट विद्युत प्रवाह गर्दा प्रणालीमा केही अस्थिरता उत्पन्न हुन सक्नेभएकोले नेपाल विद्युत प्राधिकरणले खिम्ती लामोसाँघु १३२ के.भी. प्रशारण लाई केही दिन बन्द गर्ने भएको छ ।
परीक्षण उत्पादनको विद्युत प्रवाह भएको बेला ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
Upper Tamakoshi Hydropower Limited https://t.co/BAaAlAM02S via @FacebookWatch
— Prakash Adhikari (@Prakash82846939) June 26, 2021
अर्को युनिट पनि असारभित्रै सञ्चालन
बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले असार मसान्तभित्रै अर्को युनिटको पनि परीक्षण गरेर व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ ।
असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार क्षमताको सो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । नाकाबन्दी,भूकम्प र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिसँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना उत्पादनको चरणमा आइपुगेको हो ।
आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म प्रसारण लाइन व्यवस्थापनको काम हुने डा न्यौपानेले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले आज एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।
सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती हुुन सक्ने सूचनामा उल्लेख छ ।
प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने र औद्योगिक ग्राहकलाई पर्ने समस्या तथा असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ ।
माथिल्लो तामाकोशीको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम भइरहेको छ । आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो ।

आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत आयोजनाले पैदा गरेको छ । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।
पछिल्लो पटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो ।
सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।


















