Prakash Adhikari June 26, 2021

बुटबल(रुपन्देही), १२ आषाढ । जलविद्युत उत्पादन र सिंचाइको लागि ज्यादै उपयोगी मानिएको कालीगण्डकी तिनाउ नदी पथान्तरण बहुद्देश्यीय आयोजना अब अगाडि बढ्ने भएको छ ।

उप्रप्रधान,गृह,अर्थ, उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री विष्णुप्रसाद पौडेलले शनिवार बुटबलमा यसको कार्यालय उद्घाटन गरेसंगै यो आयोजना अगाडि बढ्ने सुनिश्चित भएको हो ।

सप्त गण्डकीको एक मुख्य नदी मानिएको काली गण्डकी नदीमा बाँध निर्माण गरी सो पानीलाई सुरुड.मार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलबस्तु जिल्लाका उर्बर भूमीमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउने र यस क्रममा १ सय २६ मेगावाट विद्युत पनि उत्पादन गर्ने अयोजना नै कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना हो ।

उपप्रधानमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुलुककै समृद्धिका लागि निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हुने बताउनुभयो । उहाँले परियोजनाले रूपन्देही र कपिलवस्तुका जमीनमा सिँचाइ सुविधा पु¥याउने, विद्युत् उत्पादन गर्ने तथा पर्यटकीय पूर्वाधारको समेत विकास गरिने योजना रहेको जानकारी दिनुभयो ।

नेपालमा यसपूर्व नै भेरी बर्बई डाइभसन आयोजना सुरु भएको छ भने सुनकोशी मरिन डाइभर्सन आयोजनाको पनि केही महिना पहिले प्रधानमन्त्री के.पी. शर्मा ओलीले शिलान्यास गरिसक्नुभएको छ । नदी पथान्तरण आयोजनामा यो तेस्रो आयोजना हो ।

कालीगण्डकी– तिनाउ डाइभर्सन 

बुटवलमा कार्यालय स्थापना भएसँगै अब कालीगण्डकी– तिनाउ डाइभर्सन आयोजनाले गति लिने भएको छ । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पु¥याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलमा उद्घाटन गर्दै हुुनुहुन्छ ।

रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका शहरहरुमा जनघनत्व बढ्दै जाँदा सुक्दै गएको तिनाउ नदीमा पानीको पुनःसञ्चितीकरणका लागि उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ ।

आयोजनाको प्रारम्भिक अध्ययन सकेर अहिले विस्तृत परियोजना प्रतिवेदनको काम शुरु भएको छ । बुटवलमा कार्यालय स्थापनासँगै अब यो वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डिपिआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताउनुभयो । आगामी एक वर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजनाले बताएको छ ।

यो परियोजना सम्पन्न भएपछि रुपन्देही र कपिलवस्तुमा सिँचाइको पर्याप्त व्यवस्था हुने र विद्युतको उत्पादनसमेत बढ्ने दावी विज्ञहरुले गर्दै आएका छन् । तिनाउ नदीका विषयमा लामो अध्ययन गर्नुभएका इञ्जिनीयर खेटराज दाहालले तिनाउ नदीमा पानी सुक्दै जाने विकराल अवस्था रहेकाले कालीगण्डकी डाइभर्सनको कुनै विकल्प नरहेको बताउनुहुन्छ ।

प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले ठूलो वातावरणीय चुनौती ल्याउने भन्दै माथिल्लो तटीय क्षेत्रका स्थानीयले भने यो आयोजनाको विरोध गर्दै आएका छन् । उपप्रधानमन्त्री पौडेलले भने कालीगण्डकी नदीको सभ्यता र यसको वातावरणीय अध्ययन गर्दै माथिल्लो तटीय क्षेत्रका जनतालाई चित्त बुझाएर मात्र आयोजनाको काम अघि बढ्ने बताउनुभएको छ ।

कालिगण्डकी – तिनाउ डाइभर्सन सुनिश्चित भएको जनाउ दिन नदी डाइभर्सनपछि तिनाउ र दानवमा विकास हुने जलप्रवाह र त्यसको ब्यवस्थापनका लागि दुवै नदी किनारामा सडक निर्माण गर्न तिनाउ दानव करिडोर आयोजनाको काम अघि बढाइएको छ । डाइभर्सनपछि निकट भविष्यमा तिनाउ नदीमा पानीको सतह स्वतः बढ्ने भएकाले दुवै नदीहरुको तटबन्ध सहित नदी किनारामा ब्यवस्थित सडक निर्माणको काम अघि बढाइसकेको र तिनाउमा कालीको पानी आउनुअघि यो आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पौडेलको भनाइ छ ।

यसरी आउनेछ तिनाउमा पानी

कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजना राष्ट्रिय सिँचाइ गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा परियोजना हो । गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७ किलोमिटरका दुइ वटा सुरूङमार्फत तिनाउ नदीमा खसालिने छ ।
सिँचाइ विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तरजलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र टेलरेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाइमा प्रयोग गरिने गरी परियोजनाको डिपिआर बन्दैछ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ ।

२७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेगावाट विद्युत उत्पादन हुनेछ । दोभानमा विशाल जलाशय निर्माण गरेर केही भाग पानी तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलवाससम्म ७ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेगावाट विद्युत उत्पादन गरिनेछ ।

त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तु सम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ । यसो हुँदा रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्नेछ । करिब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पु¥याउन सकिने विश्वास प्राविधिकहरूको छ । पौडेलले गण्डकी प्रदेशसँगको समन्वय र विस्तृत वातावरणीय अध्ययन गरेर मात्रै तिनाउमा कालीगण्डकीको पानी ल्याउने बताउँदै आउनुभएको छ ।

सो परियोजना सम्पन्न गर्न रु १३८ अर्ब लागत अनुमान गरिएको छ । यसअन्तर्गत विद्युत् उत्पादन करीब रु ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करीब रु ७४ अर्ब अनुमान गरिएको छ ।

उक्त रकमको स्रोत सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.