युनियन लाईफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति ; रू ६४ करोड ५० लाखको आईपीओ आउने
काठमाडौं, १५ आषाढ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।
२ अर्ब रुपैयाको अधिकृत पूँजी रहेको कम्पनीको हाल चुक्तापूँजी हाल रू.१ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।
हाल संस्थापक तर्फको शेयर स्वामित्व ७० प्रतिशत रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
कम्पनीलाई रू ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न असार १३ गते बोर्डले अनुमति दिएको हो ।
युनियन लाईफले आईपीओ निष्कासनका लागि जेठ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । निवेदन दर्ता गरेको डेढ महिना नपुग्दै कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको हो ।
युनियन लाइफ इन्स्योरेन्सको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपी आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ ।
यस अवधिसम्म कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ ।
कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।