Prakash Adhikari June 30, 2021

काठमाडौं, १६ आषाढ । कोरोनाभाइरसको महामारीका कारण सीमित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानहरूको संख्या भोलिबाट क्रमश बढाउने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेको थियो।

तर हाल पनि सीमित नियमित र चार्टर्ड उडान दुवैले अनुमति पाएको भन्दै नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने बताएका छन्।

तर नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले अर्को सूचना नभएसम्मका लागि नेपालसहित सातवटा देशबाट आउने हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ।

नयाँ उडान तालिका कस्तो छ ?

जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ।

त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ।

त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्ने भनिएको छ।

संयुक्त अरब एमेरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुने जनाइएको छ।

साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुने र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान गर्ने भनिएको छ।

टर्कीको इस्तानबुलमा दुईवटा उडान गर्ने योजना त्यहाँको सरकारको पछिल्लो निर्णयका कारण प्रभावित नहुने अधिकारीहरू बताउँछन्।

टर्कीश एअरलाइन्सले जनाएअनुसार यात्रुहरूलाई टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरी अरू देश जान दिइने भएकाले काठमाण्डू(इस्तानबुल उडान तालिका कायमै रहनेछ।

उडान

नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्नुहुन्छ, ूहामीले उडान गर्ने भनेर अनुमति दिएका छौँ तर त्यहाँको देशले बन्द गरेको कुरालाई हामी केही गर्न सक्दैनौँ। उताबाटै उडान रोकिएको हकमा नेपाल सरकारले केही गर्न सक्ने अवस्था छैन।ू

उहाँले थप्नुभयो, ूचीनले औपचारिक रूपमा नरोके पनि उनीहरूले उडान तालिका माग्दै निवेदन नै दिएको छैन। उनीहरूको सुरक्षा मापदण्ड एकदमै कठोर हुन सक्छ। दुबईले जुलाई २४ सम्म प्रवेश गर्न रोके पनि त्यहाँबाट मात्रै यात्रुहरू लिएर आउन पाउने भनेको छ। सिङ्गापुरले उडानका लागि प्रयास गरेको छैन।ू

चार्टर्ड उडानको अवस्था

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार नियमित अन्तर्राष्ट्रिय उडानको सङ्ख्यामा वृद्धि देखिएसँगै चार्टर्ड उडानको सङ्ख्या घटेका छन्।

“जुन ठाउँहरूमा नियमित उडानहरू छैनन् वा कुनै व्यापारिक समूह वा अरूहरूलाई तत्कालै उडान गर्नुपर्‍यो भने मात्रै चार्टर्ड उडानहरू गरिने अवस्था छ। चार्टर्ड र उद्धार उडान र हाम्रो नियमित उडान सबै चलिरहेको छ,” कर्णले भन्नुभयो ।

नियमित बाहेक चार्टर्ड उडानमा चढ्दा यात्रुहरूले महँगो भाडा तिर्नुपर्ने भएकाले नियमित तालिका अनुसारको अन्तर्राष्ट्रिय उडानलाई सरकारले सहज बनाइदिनुपर्ने आवाज उठेको थियो।

कतिपय चार्टर्ड उडानको भाडा निर्धारण गर्दा अनियमितता भएका गुनासा आएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको नेतृत्वमा अनुसन्धान समिति बनाएको छ।

त्यसले उजुरीहरू दिन माग गरेका विवरण आएका छन्।

पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार महामारीको अवस्था भएकाले हवाई उद्योग र उडान शुल्क दुवैमा महत्त्वपूर्ण प्रभाव देखिएको छ।

उहाँले चार्टर्ड उडानका बारेमा गुनासाहरू आएपछि सरकारले छानबिन अघि बढाएको र नियमित उडानलाई अनुमति दिइएसँगै अब अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा निर्भर हुनुपर्ने अवस्था नरहेको बताउनुभयो।

“अहिलेबाटै चार्टर्ड उडानहरू छैनन्। जति उडान छन् सबै नियमित उडान तालिकाअन्तर्गत नै छन्। पहिला नै उडान अनुमति पाएका एकाध चार्टर्ड उडान यो बीचमा चले पनि जुलाईबाट मन्त्रिपरिषद्को निर्णय अनुसारको नियमित उडान तालिका आइसकेको छ,” लामिछानेले भन्नुभयो ।

सहसचिव लामिछानेले ‘परिस्थितिजन्य कारण’ले कुनै गन्तव्यमा चार्टर्ड उडान गर्नुपर्ने भएमा त्यसबारे पछि आवश्यक निर्णय लिइने बताउनुभएको छ।

तर नेपाली श्रमिक रहने बढी माग रहेका गन्तव्यमा अझै पनि थोरै उडान रहेकाले चार्टर्ड विमानमा बढी भाडा तिरेर कामदारहरूले यात्रा गर्नुपर्ने अवस्था रहेको कतिपय अधिकारीहरू बताउँछन्।

क्वारेन्टाइन खुकुलो

अधिकारीहरूका अनुसार यसै हप्ता मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा क्वारेन्टाइन मापदण्डले ुकोभिड नेगेटिभ रिपोर्टु भएका र खोप लगाएका व्यक्तिहरूका लागि नयाँ व्यवस्था गरेको छ।

विमानस्थल

विमानस्थल

मन्त्रालयका सहसचिव लामिछानेका अनुसार पूरा मात्रा खोप लगाएको वा पीसीआर नेगेटिभ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वारेन्टाइनमा बस्न मिल्ने निर्णय गरिएको छ।

उहाँले त्यस्ता व्यक्तिलाई सोझै घर जान दिइने बताउनुभयो।

आफन्त बितेर अन्तिम संस्कारमा सहभागी हुन आएका व्यक्तिहरू अस्पताल र वडा कार्यालयको सिफारिससहित नेगेटिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइने संशोधित मापदण्डमा जनाइएको छ।

तोकिएका बाहेक अन्य सबैले सात दिनको होटल बुकिङको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने भनिएको छ।

होटेलको क्वारेन्टाइन र घरको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई आफू नेपाल प्रवेश गरेको सात र ११ दिनमा आरटी पीसीआर जाँच गराउन प्राधिकरणले भनेको छ।

साथै नियम मिच्नेलाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेशअन्तर्गत कारबाही गरिने चेतावनी पनि दिइएको छ।

 

Share Now

Leave a comment.