Prakash Adhikari July 2, 2021

काठमाडौं, १८ आषाढ । देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएका विवरण प्राप्त भइरहेका छन्।

अविरल बर्षाको कारण आएको बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरू सहित विभिन्न सडक खण्डहरू पनि प्रभावित भएको बताइएको छ।

जनधनको क्षति

पछिल्लो अद्यावधिक सरकारी विवरण अनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १ सय ७८ घटना भएका छन्।

त्यसमा हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। घाइतेको सङ्ख्या ३२ पुगेको छ।

वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४ सय ८३ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने १ सय १२ घरहरूमा आंशिक क्षति भएको छ।

त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वट सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै सङ्ख्यामा जलविद्युत आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा ब्याङ्क तथा वित्तीय संस्थामा क्षति भएको विवरण प्राप्त भएको छ।

राजमार्गहरू अवरुद्ध

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो विवरण अनुसार धादिङ जिल्लास्थित पृथ्वी राजमार्गमा लेदो सहितको पहिरोका कारण सडक अवरुद्ध भएको छ।

त्यस्तै मुग्लिङ नारायणगढ खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ।

पहिरो

पहिरो

काभ्रेमा लेदो सहितको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। कान्ति लोकपथ र हेटौडा जाने बाटोमा पनि पहिरोको प्रभाव परेको छ।

पृथ्वी राजमार्ग, मुग्लिङ नारायणगढ खण्ड र बीपी राजमार्ग एकतर्फी रूपमा खुलाइएको केन्द्रले जनाएको छ।

हुलाकी राजमार्ग, अरनिको राजमार्ग, मध्य पहाडी राजमार्ग लगायत दर्जनौँ सडक खण्ड हाल अवरुद्ध रहेका छन्।

बर्षाको स्थिति

निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडक लगायतका संरचनाहरू भत्किएका छन्।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा “वर्षा भइरहेको र भारी वर्षाको पनि सम्भावना रहेको” सरकारी निकायहरूले जनाएका छन्। यस क्षेत्रमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको बाढी पूर्वानुमान शाखाले आफ्नो ह्यान्डलबाट ट्विट गर्दै आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी रापती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान रहेको जनाएको छ।

‘तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ’, उसले भनेको छ।

 

नदीहरूको बहाब बढ्यो

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरू र नारायणी र त्यसका सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी र मर्स्याङ्दी लगायतमा उच्च जोखिम रहेको छ।

कन्काई, कमला, बागमती र पूर्वी राप्ती जलाधारका केही सहायक नदीहरूमा मध्यम देखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्क हुनुपर्ने तहमा पुग्ने जनाइएको छ।

यी नदीहरूलाई पनि उच्च जोखिम रहेको क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

May be an image of outdoors

बाढी

त्यस्तै प्रदेश १ मा इलाम, झापा र मोरङसहित नौ जिल्ला, प्रदेश २ का आठ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला, गण्डकी प्रदेशका नौ जिल्ला र लुम्बिनी प्रदेशका चार जिल्ला उच्च जोखिममा छन्।

सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिन थालेको छ। त्यहाँका दुई जिल्ला दार्चुला र बझाङ हाल मध्यम जोखिममा छन्।

देशैभरका नदीहरूमा शुक्रवार आकस्मिक बहाव हुन सक्ने जनाइएको छ।

महाशाखाको पूर्वानुमान अनुसार शनिवार पनि विभिन्न नदी र आसपासका क्षेत्रहरू उच्च जोखिममा नै रहने छन्।

1140x725

 

 

Share Now

Leave a comment.