Prakash Adhikari July 5, 2021

हेटौडा (मकवानपुर),२१ आषाढ । वाग्मती प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने  प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि दिउँसो ३ बजे सारिएको थियो । सारिएको समयमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहमति कायम नभएपछि आइतबारको बैठकलाई स्थगित गरी सोमबार दिनको १ बजे बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभाको शनिबारको बैठकमा  विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आइतबार हेटौँडामा  सर्वदलीय बैठक भएको थियो ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी हुनुहुन्थ्यो । उहाँहरुबीच  असार २१ गते सोमबार दिन १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताउनुभयो ।

सोमबार बस्ने प्रदेशसभाको पहिलो बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिने र उहाँहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको प्रमुख सचेतक निरौलाले बताउनुभयो ।

Share Now

Leave a comment.