Prakash Adhikari July 6, 2021

बर्लिन(जर्मनी), २२ आषाढ (बीबीसी) । जर्मनीले कोभिडका कारण यूके र नेपालसहित अन्य तीन राष्ट्रका यात्रुहरूमा लगाएको प्रतिबन्ध हटाउँदै छ।

पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध बुधवारबाट हटाइने भएको हो।

पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारेन्टाइनमासमेत बस्नु नपर्ने बताइएको छ।

खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ।

तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारेन्टाइनबाट बाहिरिन पाउने छन्।

हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण “भाइरस भेरिअन्ट एरियाज”का रूपमा वर्गीकरण गरिएको थियो।

उक्त भेरिअन्ट सुरुमा भारतमा पहिचान भएको थियो।

जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारेन्टइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो।

यी पाँच राष्ट्रहरूलाई अब “हाइ इन्सिडेन्स एरियाज” अर्थात् सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घण्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने बताएको हो।

बोरिस जोनसन

बोरिस जोनसन

अबको दुई सातामा इङ्गल्यान्डमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाइने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री जोनसनले खोप कार्यक्रमले नयाँ सङ्क्रमण र मृत्युबीचको सम्बन्ध तोडिदिएको बताउनुभएको छ।

तर डाउनिङ स्ट्रीटमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महामारी अन्त्य भई नसकेको र थप मानिसहरूको मृत्यु हुने उहाँले बताउनुभएको थियो।

Share Now

Leave a comment.