काठमाडौं, २३ आषाढ । कोरोना भाइरसको संक्रमण दर र मृत्यु दर ओरालो लागेसंगै सरकारले आन्तरिक र बाह्य आवागमन सहज बनाउन आन्तरिक उडान थप खुला गर्ने र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढाउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको बताउनुभएको छ ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् ।
आन्तरिक उडानका हकमा सामान्य अवस्थामा उडान सङ्ख्या फर्काउने निर्णय गरिएको भए पनि अन्तर्राष्ट्रिय उडान सङ्ख्या भने क्रमिक रूपमा बढाइने उहाँले जानकारी दिनुभयो।
“यसअघि (यसअघिका निषेधाज्ञापछि) जति मात्रामा खुल्यो त्यही मात्रामा खोल्ने भन्ने छ”, अन्तर्राष्ट्रिय उडानबारे मन्त्री श्रेष्ठले भन्नुभयो,”ह्वात्तै १०० प्रतिशत नै खोल्दा फेरि बढ्न (कोरोनाभाइरस सङ्क्रमण) थालेको छ।”
कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला गरिएको थियो।
सुरक्षित व्यवस्थापनको तयारी

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
“हामी विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयारी अवस्थामा छौँ। मन्त्रालयले परिपत्र गरेपछि हामी सबै वायुसेवालाई तालिकाका लागि आवेदन दिन भन्ने छौँ “, प्रवक्ता क्षेत्रीले भन्नुभयो।
त्यसपछि विमानस्थलमा एकै पटक धेरै भिड नहुने व्यवस्था मिलाएर आफूहरूले तालिका तय गर्ने र त्यसै अनुसार उडान अनुमति दिइने उहाँले जानकारी दिनुभयो।
“पत्र प्राप्त भएको तीन दिनमा हाम्रो सबै काम गर्न सक्छौँ “, उहाँले भन्नुभयो, “अबको सातदेखि १० दिनमा पुरै खुला हुन्छ।”
अहिलेको अवस्था
प्राधिकरणका अनुसार हाल दैनिक तीनदेखि पाँच वटा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।
त्यस्तै सामान्य अवस्थाको तुलनामा झन्डै ५० प्रतिशत कम ६७ वटासम्म नियमित आन्तरिक उडान भइरहेको अधिकारीहरू बताउँछन्।
हाल बुद्ध एअरलाई दैनिक ३१ वटा, यतीलाई १५, श्री एअरलाइन्सलाई १० र सौर्यलाई तीन वटा उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

विराटनगर विमानस्थल
उडान सामान्य अवस्थामा फर्किए दैनिक आन्तरिक उडान सङ्ख्या १०० पुग्ने र अन्तर्राष्ट्रिय उडान सङ्ख्या भने १५ देखि २० बीच रहने बताइएको छ।
कम उडानका कारण सास्ती भोगेका सर्वसाधारणहरूलाई उडान सङ्ख्या बढ्नुले राहत दिने क्षेत्री बताउँनुहुन्छ।
“यात्रु मात्रै होइन, नागरिक उड्डयन अनि वायुसेवा सबैलाई राहत हुन्छ”, उहाँले थप्नुभयो ।(बीबीसीबाट)


















