Prakash Adhikari July 9, 2021

 

काठमाडौं, २५ आषाढ । नेपालमा थप २ हजार २ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय १३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४ हजार ६ सय ५६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको १९.७९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।

सो अवधिमा १ हजार ३ सय १६ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै ६ लाख ९५ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९ हजार ३ सय ४० पुगेको छ।

अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४ हजार ९ सय ९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।

अहिले कुल २६ हजार ५ सय ९० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ६ सय ७० जना संस्थागत आइसोलेशनमा रहेका छन्।

शुक्रवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३ सय ८० जना काठमाडौं उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ९ जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने २४ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५ सय ३९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ६६ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप ?

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शुक्रवारसम्म नौ लाख ६४ हजार ५ सय ८ पुगेको छ।

नेपालमा कोभिशिल्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।

कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

भारतको अवस्था के छ ?

भारतमा विगत चौबिस घण्टामा ४३ हजार ३ सय ९३ नयाँ सङ्क्रमित थपिएका छन् भने ९ सय ११ जनाले कोभिड जोडिएका घटनामा ज्यान गुमाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड ७ लाखभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन्।

अहिलेसम्म ४ लाख ५ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै ४ लाख ५८ हजारभन्दा धेरै छ।

भारतमा हालसम्म ३६ करोड ८९ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।.(बीबीसीं)

 

Share Now

Leave a comment.