Prakash Adhikari July 14, 2021

 

सिमिकोट(हुम्ला), ३० आषाढ ।  दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् ।

 

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् । समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत–सङ्गीत हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले  स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायाङ्कन गरिएको निर्देशक एवं पत्रकार पदमराज हमालले जानकारी दिनुभयो ।

 

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको  देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको निर्देशक हमालले बताउनुभयो । गोठालाहरूको दुःखपीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ । म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारहरुको अभिनय रहेको बताइएको छ ।

 

गीतमा हुम्लाका सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय रहेको छ । जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायाङ्कन गर्नुभएको हो ।

Share Now

Leave a comment.