नयाँदिल्ली(भारत), ५साउन । भारतको नयाँ दिल्लीस्थित नेपालका राजदूत निलाम्बर आचार्यले फोनमार्फत आफूलाई जासुसी गरिएको भए त्यो आपत्तिजनक हुने बताउनुभएको छ।
इजरेली कम्पनीले निर्माण गरेको पेगासस नामक स्पाइवेअरको प्रयोग गरेर भारतमा पत्रकार, अभियानकर्मी तथा राजनीतिज्ञहरूको फोनमार्फत जासुसी गरिएका विवरणका माझ दिल्लीस्थित नेपालसहित कतिपय देशका कूटनीतिज्ञ एवं राजदूतहरूको फोन समेत जासुसी गरिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए।
स्पष्ट पार्ने आशा
यसबारे भारतीय अधिकारीहरूले चाँडै नै स्पष्ट पार्लान् भन्ने आशा राजदूत आचार्यले व्यक्त गर्नुभएको छ।
ूत्यस्तो नहुनुपर्ने हो। तर त्यस्तो गरिएको हो भने त एकदम आपत्तिजनक हो।ू राजदूत आचार्यले भन्नुभएको छ, ूव्यापक चर्चाको विषय बनेको छ, त्यसैले आधिकारिक संस्था वा निकायबाट त्यसलाई स्पष्ट पारिएला आशा गरौँ।ू
उहाँले भारतीय अधिकारीहरूसँग यसबारे आफूले अहिलेसम्म सोधपूछ नगरेको पनि बताउनुभयो।

पृष्ठभूमि
इजरेलको एउटा कम्पनीले सरकारहरूलाई बेचेको जासुसी एप विश्वभरि अधिकारकर्मी, पत्रकार र वकिललाई लक्षित गरिएको समाचारहरू आइरहेका छन्।
एनएसओका ग्राहकहरूको स्वार्थ रहेको ठानिएका ५०,००० व्यक्तिहरूको फोन नम्बरमा उक्त स्पाइवेअर रहेको विवरण प्रमुख सञ्चार माध्यमहरू समक्ष चुहाइएको थियो।
त्यो विवरण कहाँबाट आयो वा कसको फोन वास्तवमा ह्याक गरिएको छ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।
एनएसओले भने आफूले गलत कार्य नगरेको जनाएको छ।
स्पाइवेअरमार्फत गोप्य तरिकाबाट फोन, कम्प्युटर वा अन्य उपकरणबाट त्यसमा भएका जानकारी एकत्रित गर्न सकिन्छ।
उपयोगकर्ताको अनुमतिविनै त्यस्तो जानकारीलाई अन्य उपकरणमा सार्न पनि सकिने बताइएको छ।
भारतमा थुप्रै पत्रकार, एवं अभियानकर्मीहरू यसको शिकार भएको भन्दै विरोध हुँदै आएको छ।(बीबीसीबाट)


















