काठमाडौं, १५ साउन । जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरण पार गर्न असफल हुनुभएको छ । यो नतिजासंग टोकियो ओलम्पिक खेलमा नेपालको यात्रा समाप्त भएको छ ।
शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठौं स्थानमा रहनुभयो ।
उहाँले १०० मिटरको दूरी १२.९१ सेकेन्डमा पूरा गर्नुभयो । यो उहाँको घरेलु समयभन्दा पनि बढी हो ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी हुनुभएकी सरस्वतीको बेस्ट टाइमिङ १२ : ५५ सेकेन्ड हो। उहाँले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ बनाउनुभएको थियो। त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उहाँले १२ : ७२ सेकेन्ड टाइमिङ निकल्नुभएको थियो।
प्रारम्भिक चरणमा तीन हिटमध्ये सरस्वती हिट २ मा हुनुहुन्थ्यो। प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन्।
महिला १०० मिटरमा देवीमाया पनेरूको नाममा राष्ट्रिय कीर्तिमान छ। पनेरुले सन् १९९९ को सागमा १२ः१९ सेकेन्डको कीर्तिमान बनाउनुभएको थियो।

सरस्वती बाहिरिएसँगै टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ।
नेपालका ५ खेलाडीले भाग लिएकोमा टेकियो ओलम्पिकमा कास्यसम्मको आशा थियो तर त्यो पनि संभव भएन ।
यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभएको थियो। जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेन्डमै पराजित हुनुभयो । नेपालका कुनै पनि खेलाडी दोस्रो चरणमा पुग्न समर्थ हुन सक्नुभएन ।


















