काठमाडौं, १४ साउने । आफ्नो पदाधिकारको अनाधिकृत उपयोग गरेर आफ्नो संस्थामा धितोपत्र कारोबार गर्न आउने संस्थाहरुलाई दबाब दिएर संस्थाको शेर आफू र आफ्नो परिवारको नाममा लिएको आरोपमा अर्थ मन्त्रालयले नेपालको धितोपत्र बजार निर्माताको काम गर्दै आएको नेपाल धितोपत्र विनिमय कम्पनी(नेपाल स्टक एक्सचेञ्ज कम्पनी, नेप्से)का प्रमुख कार्यकारी अधिकृतलाई पनि तीन दिने स्पष्टीकरण सोधेको छ ।
अर्थ मन्त्रालयले साधारण शेयर बिक्री गर्न लागेको सर्वोत्तम सिमेण्ट कम्पनीको ११ हजार भन्दाबढी कित्ता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नी श्रीमतीको नाममा खरीद गरेको पाइएपछि आज स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ ।
नेपाल धितोपत्र बिनिमय कम्पनीका प्रमुख कार्यकारी अधिकृत साउदले श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता खरिद गर्नुभएको छ । सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले २० पुस २०७७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको विवरणमा यो कुरा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७६ । ७७ को बोनस शेयरपछि बोहराको नाममा रहेको शेयर संख्या सेवोनका अध्यक्ष भिष्मराज ढुंगानाकी सुपुत्री रेबिका ढुंगानाको बराबर हुने गरी ११ हजार ९ सय १२ पुगेको छ।
प्रमुख कार्यकारी अधिकृत साउदले प्रतिकित्ता रु.२५० को मूल्यमा सो शेयर खरिद गरिएको दावी गर्नुभएको छ । उहाँले बजार सञ्चालक र त्यसका कर्मचारीहरुले दोस्रो बजारमा मात्रै किनबेच गर्न नमिल्ने जिकिर गर्दै बुक बिल्डिङमार्फत शेयर निष्कासन गर्न लागेको कम्पनीको शेयर लिन नमिल्ने भन्ने व्यवस्था छैन भनेर आफ्नो बचाउ गर्नुभएको छ ।
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ।
सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६ ।७७ मा रू.७७ करोड ७६ लाख नाफा कमाएको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्ष यसको नाफा रू।१ अर्ब १७ करोड १७ लाख थियो। अध्यक्ष न्यौपानेका अनुसार, गत आर्थिक वर्ष २०७७।७८ मा यसको खूद नाफा सवा अर्ब हाराहारीमा हुने अनुमान गरिएको छ।
विस्तृत छानवीनको जरुरी
धितोपत्रको कारोबारको बजार उपलब्ध गराउने बजार सञ्चालक स्टक एक्सचेञ्ज र समग्र धितोपत्र बजारको विकास,विस्तार र नियमनको जिम्मेवारी पाएको बोर्डका प्रमुखहरुले आफ्नो पदाधिकारको दवाव र प्रभावको माध्यमबाट शेयर बजारमा अबाञ्छित क्रियाकलाप गरेकोले दुवैको पद धरापमा पर्न गएको देखिएको छ ।
बोर्डका अध्यक्ष ढुंगाना संसदीय समितिले दिएको निर्देशन विपरीत बैंकहरुलाई लाइसेन्स दिनेकाममा विलम्ब गरेर धितोपत्र दलालसंग पैसा खाई तिनलाई शाखा खोल्न दिने र एजेन्ट राख्न दिने उल्टोबाटो लागेकोमा बदनाम हुनुहुन्छ । उहाँले हालै नेप्सेको अधिनमा रहेको धितापत्र दलाल थप्ने अधिकार पनि हस्तक्षेप गरेर बोर्डमा ल्याउने कसरत गर्नुभएको थियो ।
अर्थमन्त्रालयको लगाम नेकपा माओवादी केन्द्रका जब्बर नेता जनार्दन शर्माको हातमा गएकोले राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष अनुकम्पामा नेकपा एमालेको सरकारले नियुक्त गरेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाली कांग्रेस निकट मानिनुहुने चन्द्रप्रकाश साउद दुवैको पद धरापमा परेको छ ।
बोर्ड अध्यक्ष ढुंगाना र नेप्से प्रमुख कार्यकारी अधिकृत साउदले देखाएको दबाव र प्रभावमा राम्रा कम्पनीको शेयर लिने प्रवृत्तिले खराब कम्पनीलाई पनि सूचीकृत गरेर पैसा खाने तथा राम्रा कम्पनीका शेयर आफू र परिवारका नाममा लिएर सूचीकृत हुने अनुमति दिने प्रवृत्तिले दुवै संस्थामा जरो गाडेको देखाउछ ।
यो प्रवृत्ति दुवै संस्थाका प्रमुखमा मात्र रहेको हो वा दुवै संस्थाका विभागीय प्रमुख तथा स्थलगत निरीक्षकहरुमा पनि रहेको छ ? यसका बारेमा गहन छानबिनको जरुरी देखिएको छ ।
यो मन्त्रालयले गर्ने हो वा संसदीय समितिले हेर्ने हो तय नभए पनि दुवै जनाको जागीर साउने भेलमा परेको छ ।


















