Prakash Adhikari August 1, 2021

खुमलटार(ललितपुर), १७ साउन । नेपालमा धितोपत्र बजारको विकास,विस्तार र नियमन गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले  अध्यक्ष भिष्मराज ढुंगानालाई नैतिक पतन हुने कार्यमा संलग्न भएको आरोप लगाउदै तत्काल निलम्बन गरी छानबिन गर्न सरकारसंग माग गरेका छन् ।

धितोपत्र बोर्ड कर्मचारी यूनियनका तर्फबाट आइतबार जारी विज्ञप्तिमा पछिल्लो समय सञ्चार माध्यममा आएका विषयले बोर्डअध्यक्षको इमान्दारिता, कानुनी प्रावधान, आचार संहिता अनुसार गम्भीर नैतिक पतन भएको भन्दै निलम्बन गरी छानबिन गर्न माग गरिएको हो ।

अध्यक्ष ढुंगाना बोर्डबाट अनुमति लिएर बुक बिल्डिड. विधिबाट आरम्भिक सार्वजनिक निष्काशनमा आउन लागेको सर्वोत्तम सिमेण्टको १० हजार कित्ता शेयर अनुमति प्रक्रिया थालनी भएपछि आफ्नी छोरी रेबिका ढुंगानाको नाममा खरिद गरेको विवादमा पर्दै आउनुभएको छ ।

बोर्डको कर्मचारी यूनियनले छानबिनबाट दोषी देखिएमा हदैसम्मको कारवाही गर्न माग गर्दै भनेको छ, ‘बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित सम्वेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन हो’ ।

 

यूनियनले धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषालाई उल्लेख गर्दै भनेको छ,” धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, संचार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन देखिएको हुँदा, करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यस नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियन जोडदार माग गर्दछ ।”

यूनियनले नेपाल धितोपत्र बोर्ड नेपालको पूँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको पनि स्मरण गराएको छ ।

यूनियनले बोर्डको जिम्मेवारी संझाउदै भनेको छ , “करिब देशको कूल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशिल र लगानीकर्ताको हित संरक्षणमा उद्दत हुनुपर्छ भन्ने कुरामा दुइ मत हुनै सक्दैन।”

अध्यक्षले आफ्नो पदीय मर्यादा र संस्थाको गरिमा जोगाउन नसकेको उल्ल्ेख गर्दै यूनियनले भनेको छ , “धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७(२) मा अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात बर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्ये उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ भनेर उल्लेख गरिएकोमा अध्यक्षका रुपमा नियुक्त व्यक्तिले बोर्डको अध्यक्षका रुपमा रहदा आफ्नो लब्ध प्रतिष्ठा र बोर्डको गरिमालाई कायम राख्न नपर्ने भन्ने प्रश्नै आउदैन।”

यूनियनले बोर्ड अध्यक्ष ढुंगानाले गरेको गल्तीको विषयमा स्पष्टीकरण सोध्दा मन्त्रालयले ब्यक्तिका नाममा पत्र नकाटेर बोर्डलाई मुछेकोमा आपत्ति जनाएको छ । तर सर्वोत्तम सिमेण्टको सार्वजनिक निष्काशनमा बोर्डका अन्य पदाधिकारी पनि मुछिएको र स्वार्थको मिलन भएको हुनाले बोर्डलाई पत्र काट्नु त्यति असान्दर्भिक देखिएको छैन् । यो प्रकरणमा बिक्री प्रबन्धकको चयनदेखि सार्वजनिक हुनुपूर्व बोर्डकै अन्य सदस्यहरुले पनि शेयर खरिद गरेको देखिएको छ ।

यूनियनले अध्यक्षको कामकाहीले बोर्डको गरिमामा समेत आँच आएको उल्लेख गर्दै भनेको छ, “धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहदैन। बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसंग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन भएको निष्कर्ष यूनियनले  निकालेको छ ।”

 

 

 

Share Now

Leave a comment.