Prakash Adhikari August 5, 2021

काठमाडौं, २१ साउन । विश्वमा फैलिरहेको प्राणघातक कोरोना भाइरस संक्रमणको महामारीबाट झण्डै १० हजार नेपालीले जीवन गुमाएका छन् ।

नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३७ जनाको कोभिड१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १८ हजार ४ सय ८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६ हजार ५ सय  जनाभन्दा बढीको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ७३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ९ सय ९४ पुगेको छ।

अहिले कुल परीक्षणको २१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ९ सय २५ जना सङ्क्रमणमुक्त भएका छन्।

दक्षिण एशियामा बाङ्ग्लादेश र नेपालको सङ्क्रमण पुष्टि दर उच्च छ।

नेपालमा कोभिडका कारण अहिलेसम्म १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ३४ हजार ४ सय जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

 

नेपालमा यसरी बढिरहेको छ कोभिड. सात जिल्लामा थपिए १०० भन्दा बढी सङ्क्रमित. साउन २१ गते अपराह्णसम्मको तथ्याङ्क.

 

कहाँ छन् सङ्क्रमित ?

अहिले काठमाडौंमा ७ हजार ८० जना, भक्तपुरमा १ हजार २ सय ९९ जना र ललितपुरमा १हजार ६ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

विभिन्न १६ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी छ।

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये झन्डै एकतिहाइ काठमाडौं उपत्यकामा छन्।

भर्खरै पुष्टि भएका र निको हुन बाँकी सङ्क्रमितमध्ये ३१ हजार जनाभन्दा बढी घरमा तथा ३ हजार ३ सय जनाभन्दा बढी संस्थागत आइसोलेशनमा छन्।

तीमध्ये गम्भीर समस्या भएका ७ सय १३ जना विभिन्न अस्पतालका आईसीयूमा र १ सय ५८ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित. साउन २१ गते अपराह्णसम्मको तथ्याङ्क.

खोप वितरणको अवस्था

 

विगत २४ घण्टामा १लाख १७ हजार जनाभन्दा बढीलाई कोभिड( १९ को खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २१ लाख ३१हजार हाराहारी पुगेको छ।

नेपालमा अहिलेसम्म झन्डै ४३ लाख ६० हजार जनाले पहिलो मात्रा खोप लगाएका छन्।

नेपालमा भेरो सेल र जोनसन एन्ड जोनसन खोप वितरण भइरहेको छ।

पाँचथरमा कोभिड खोप लिने मानिसहरूको भिड

पाँचथरमा कोभिड खोप लिने मानिसहरूको भिड

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

तर भारतमा उत्पादित अक्सफर्ड(आस्ट्राजेनेकाको कोभिशील्ड खोप निर्यातमा रोक लागेपछि नेपालको खोप अभियान प्रभावित भएको छ।

उक्त खोपको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६७ हजार जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

जापान सरकारले नेपाललाई आस्ट्राजेनेका खोप उपलब्ध गराउन लागेको छ। त्यो खोप पहिलो मात्रा कोभिशील्ड लगाएका व्यक्तिलाई दिने सरकारको योजना छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.