Prakash Adhikari August 12, 2021

काठमाडौं, २८ साउन । नेपालमा धितोपत्र बजारको परिसूचकले केही दिनयता दिनहुँ नयाँ कीर्तिमान बनाउन थालेको छ ।

गत मंगलबार ३१६१.४५ विन्दुमा पुगेर नयाँ कीर्तिमान बनाएको नेप्सेले बुधबार त्यसलाई तोड्दै कीर्तिमान कायम गरेको थियो। त्यसैगरी, बुधबार बनाएको कीर्तिमानलाई नेप्सेले बिहिबार तोडेर नयाँ कीर्तिमान बनाएको हो।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९।०० विन्दुमा पुगेको छ।

बिहिबार नेप्सेमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

यस दिन २ सय२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्रीबाट १७ अर्बे ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको भएको छ।

बिहिबार नेप्सेले नयाँ रेकर्ड बनाउँदा ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रुरु जलविद्युत, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, साइन रेशुङ्गा डेभलपमेन्ट बैंक र यूनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बढेका ७ उपसमूहमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.३७ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक क्रमशः १ प्रतिशत र १.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा बिहिबार अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

Share Now

Leave a comment.