Prakash Adhikari August 12, 2021

काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशको सत्ता नेकपा एमालेको हातबाट फुत्किएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गरेपछि लुम्बिनी प्रदेशबाट एमाले सत्ताच्यूत भएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बिहीबार केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका गर्नुभएको हो ।

प्रदेश प्रमुख शेरचनले आज ३ बजेसम्म संविधानको १८६(२) अन्तरगत गठबन्धनको सरकार बनाउने दावी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखको आह्वान बमोजिम नेकपा माओवादी केन्द्रका के.सी.ले आफूलाई प्रदेशसभामा एमालेबाहेकका सबै सांसदहरु र संवन्धित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको भन्दै ४१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गर्नुभएको थियो ।

प्रदेशसभामा हाल रहेका कूल ८० सदस्यको बहुमत ४१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेकोले प्रदेश प्रमुख शेरचनले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा प्रदेश सभामा बहुमत नभएपछि उहाँको विरुद्ध विशेष अधिवेशनमा छलफलमा ल्याइएको अविश्वासको प्रस्तावको सामना नगरी बुधबार राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री पदमुक्त भएकोले प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनको आह्वान गर्नुभएको थियो ।

नवनियुक्त मुख्यमन्त्री के.सीले आज नेकपा माओवादी केन्द्रबाट २, जसपाका तीन र कांग्रेसबाट एक जना लिएर सानो आकारको सरकार गठन गर्नुहुने भएको छ ।

प्रदेशसभाको कार्यकाल १६ महिना बाँकी छ । गठबन्धनमा आवद्ध माओवादी र कांग्रेसबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मुख्यमन्त्री केसी ८ महिना सरकार चलाएपछि फागुन २ गते प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कनौडियालाई सत्ता हस्तान्तरण गर्नुहुने बताइएको छ ।

Share Now

Leave a comment.